ताजा अपडेट »

आहा रारा गोल्डकप घाटामा

शनिबार, १४ साउन २०७९

कास्की । पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार ८०० रुपैयाँ घाटा लागेको छ ।

प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघ–संस्थाबाट कुल आम्दानी ६६ लाख ४१ हजार १८१ भएकामा खर्च ६९ लाख ८९ हजार रुपैयाँ भएको क्लबले जनाएको छ ।

कोभिड–१९ को संक्रमणका कारण सेमिफाइनल र फाइनल खेलबाहेक बिनादर्शक खेलाइएको प्रतियोगितामा १२ लाख ६२ हजार ८२६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट पाँच लाख एक हजार, सहारा यूकेबाट तीन लाख र सहारा अष्ट्रेलियाबाट एक लाख रुपैयाँ थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ संकलन उपसमिति संयोजक सुनिल गुरुङले बताए ।

प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट चार लाख ९२ हजार रुपैयाँसहित विभिन्न संघ–संस्थाबाट सहयोग प्राप्त भएको थियो ।

यसैगरी, खेलाडी दैनिक भ्रमण खर्चमा २७ लाख ४८ हजार १५०, टिम प्रोत्साहन खर्च १७ लाख ९३ हजार ९५०, रेफ्री खर्च चार लाख २६ हजार ८८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ ।

गत माघ ६ देखि १५ गतेसम्म २०औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ–मर्स्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो । सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट संक्रलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।