भारत । भारतमा एक जोडी आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन सोमबार आन्द्र प्रदेशको विशाखापट्टनमको आरके बिचमा गएका थिए । बिचमा घुमिरहँदा श्रीमती बेपत्ता भइन् । श्रीमानले श्रीमती समुन्द्रमा डुबेको आशंकामा खोजी सुरु गरे । तर श्रीमती भने आन्ध्रको नेल्लोरमा आफ्नो प्रेमीसँग भेटिइन् ।
बिचबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव खोज्न दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । खोजी कार्यका लागि नौसेनाको हेलिकप्टर पनि प्रयोगमा ल्याइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले पनि खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब एक करोड रुपैयाँ खर्च गरेको छ ।
विवाहको दोस्रो वर्षगाँठ मनाउन जोडी
२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले दुई वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन् । सोमबार श्रीमान–श्रीमती विवाहको दोस्रो वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए । त्यसपछि समुद्र तटमा घुम्न गए ।
सोमबार राति दम्पती समुद्र तटमा पैदल यात्रा गर्ने क्रममा श्रीमानको फोन आयो र फोनमा कुरा गरिरहँदा उनी श्रीमतीसँग केहीबेरका लागि छुट्टिएका थिए । तर श्रीमान केही मिनेटपछि श्रीमती भएको ठाउँमा पुग्दा त्यहाँ उनी थिइनन् । श्रीमती समुद्रमा बगेको आशंका भएपछि उनले तत्कालै प्रहरीलाई खबर गरे । त्यसपछि खोजी अभियान सुरु भयो ।
महिलाले पठाएको म्यासेजबाट रहस्योद्घाटन
ती महिला आफ्नो प्रेमीसँग आरके बिचबाट भागी रेलमा चढेर नेल्लोरको कावली पुगिन् । भाग्नुअघि उनले आफ्नो सामाजिक सञ्जालका एकाउन्टहरू डिएक्टिभेट गरेकी थिइनन् । उनले आफ्नो फोन पनि बोकेकी थिइनन् ।
नेल्लोर पुगेपछि उनले नयाँ सिम किनिन् र आफ्ना आमाबाबुलाई आफू सुरक्षित भएको र आफ्नो प्रेमी रविसँग रहेको म्यासेज पठाइन् ।
उनले आफ्ना आमाबुबालाई रविसँग विवाह गरिसकेकाले आफूलाई खोज्ने प्रयास नगर्न ह्वाट्सएप भ्वाइस सन्देश पठाएकी थिइन् । उनले आफ्नो खोजका क्रममा सरकारी अधिकारीहरूले दुःख पाएकोप्रति माफी पनि मागेकी छन् । उनले आफ्ना बाबुआमासँग आफूलाई खोज्ने प्रयास गरे आत्महत्या गर्ने धम्की दिएकी छन् । -एजेन्सी
प्रतिक्रिया