ताजा अपडेट »

एसईईपछि कुन विषय र कस्तो कलेज पढ्ने ?

विहीबार, १२ साउन २०७९

एसईईको नतिजा प्रकाशन सँगसँगै विद्यार्थी तथा अभिभावकलाई विद्यालय र विषय छनौटका सम्बन्धमा अन्यौल उत्पन्न हुनु स्वाभाविक नै हो । यसका निम्ति सबैभन्दा पहिले विद्यार्थीले आफ्नो रूचि क्षेत्र पहिचान गरी विषय छनोट गर्नुपर्दछ। छनौट गर्दा प्राप्त अंलाई मात्र आधार नबनाएर आफ्नो वास्तविक क्षमतालाई ध्यान दिनुपर्दछ। छनोट गर्न लागेको विषयमा अध्ययन गर्न लाग्ने लागतको जानकारी लिएर परिवार वा अन्य माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ वा सकिँदैन भन्ने विचार गर्नुपर्दछ। छनोट गर्न लागेको विषयको देशभित्र र बाहिर कत्तिको महत्व छ भन्ने कुरासमेत ख्याल गर्नुपर्दछ ।

भौतिक पूर्वाधार तथा शिक्षणा संस्थाले उपलब्ध गराउने उपयुक्त वातावरण कस्तो छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्दछ। विद्यार्थीले आफैंले मेहनत गर्नुपर्दछ भन्ने कुरालाई ध्यान दिनुपर्दछ। भर्ना हुनु अगाडि अभिभावक, गुरूवर्ग,अग्रजसँग आफ्नो अवस्था,उद्देश्य र योजनाका लागि आवश्यक परामर्श तथा राय सुझाव लिई विषय छनोट गर्नु उपयुक्त हुन्छ। कुन विषय, किन अध्ययन गर्ने राम्ररी बुझेर मात्र विषय छनोट गर्नुपर्छ । शैक्षिक संस्था छनौट गर्दा विशेष ध्यान दिनुपर्छ । विषय छनोटमा विद्यार्थीको आफ्नो मनोबल, अवस्था, क्षमता, रुचि, लगाव, अभिभावकको आर्थिक अवस्था, आवश्यकता आदि कुराले प्रभाव पार्ने हुँदा उक्त कुरालाई ध्यानमा दिनुपर्छ । यथार्थ कुरा नबुझी साथीको लहलहैमा लागेर पनि शैक्षिक संस्था रोज्ने गरेको पाइन्छ । शैक्षिक संस्थाले आफ्नै संस्थामा भएका विषय अध्ययन गर्न दबाब दिएका भरमा विषय छनौट गर्नु राम्रो हुँदैन।

हरेक विषयहरू आफैंमा महत्वपूर्ण हुन्छन् । आफ्ना लागि कुन विषय सबैभन्दा उपयुक्त हुन्छ भन्ने कुरा बुझेर सोहीअनुसार अध्ययन गर्दा सफल भइन्छ । त्यसबाट आफ्नो भविष्यनिर्माण गर्न सकिन्छ । अहिले शैक्षिक बजारमा अस्वस्थ प्रतिस्पर्धाले घेरेको छ । जसरी पनि विद्यार्थी आकर्षित गर्ने रणनीतिमा कक्षा ११, १२ सञ्चालक तथा विद्यालयहरू क्रियाशील रहेका छन् । ब्रिजकोर्स संचालकहरूले विद्यार्थीलाई विभिन्न संस्थामा लगेर विद्यार्थीहरूको बजारीकरण गरिरहेको जस्तो अनुभुति हुन्छ। अहिले अभिभावकभन्दा पनि बजार निर्णायक बन्दै छ । साथी समुह निर्णायक बन्दैछन् ।

कक्षा १० पछि ११ र १२ कक्षामा अध्ययन गर्नका लागि धेरै विषयहरू छन् । अनेकौँ विषयहरूमध्ये आफूले कुन विषय लिएर अध्ययन गर्दा के फाइदा हुन्छ ? आफ्नो रुचि र भविष्यमा आफ्नो सम्भावित जीविकोपार्जनको क्षेत्र कुन हो ? कुन विषयको उपयोगिता के छ ? त्यसको उच्च शिक्षाको अवस्था के छ ? सम्भावना के छ ? अध्ययन गर्दा लाग्ने खर्च के कति लाग्छ ? यी विषयमा अभिभावक र विद्यार्थी दुवै जानकार हुनुपर्छ । अहिले कक्षा ११ र १२ लाई विद्यालय तहको शिक्षाअन्तर्गत समेटेर माध्यमिक शिक्षा मानिएको छ ।

शैक्षिक संस्थाहरुले आफैं कक्षा ११ र १२ थप गरी सञ्चालन गरिरहेका छन् । सङ्काय पद्धति हटाएर विषयगत रुपमा कक्षा ११ र १२ लाई राष्ट्रिय शिक्षा नीतिले समेटेको छ । कक्षा ११ र १२ मा ६ ओटा विषय अध्ययन गर्नुपर्दछ । ती मध्ये तीन ओटा अनिवार्य र ३ ओटा ऐच्छिक विषय राखिएका छन् । नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा वा गणित विषयलाई अनिवार्य विषयका रूपमा निर्धारण गरिएको छ । अन्य तीन ओटा विषयहरू रोजेर अध्ययन गर्न पाइन्छ ।

ऐच्छिक विषयमा व्यवस्थापन विषय समूहअन्तर्गत लेखाशास्त्र ,वित्तशास्त्र , अर्थशास्त्र , बजारशास्त्र , व्यवसायिक अध्ययन , होटल व्यवस्थापन , कम्प्युटर विज्ञान, यात्रा तथा पर्वतारोहण शिक्षा जस्ता विषयमध्येबाट कुनै तीनओटा विषयहरू अध्ययन गर्न पाइने व्यवस्था रहेको छ । व्यवस्थापन विषयलाई अहिले बढी महत्व दिइएको पाइन्छ। व्यवस्थापन विषयको अध्ययनपश्चात बैंक तथा वित्तीय क्षेत्र, विभिन्न संस्था तथा व्यावसायिक प्रतिष्ठानका व्यवस्थापक तथा कर्मचारी, चार्टर एकाउन्टेन्ट, लेखापाल, व्यवसायी, शिक्षक तथा प्राध्यापक बनेर आफ्नो भविस्य निर्माण गर्न सकिन्छ ।

विज्ञान विषय समूहअन्तर्गत तीनओटा अनिवार्य विषयका साथै अन्य भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, भूगर्भ विज्ञान, कम्प्युटर विज्ञान, गणित जस्ता विषय अध्ययन गर्नुपर्छ । मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा लाग्ने विद्यार्थीहरुले यी विषयको अध्ययन गर्दछन् । यी विषयहरूको अध्ययनपश्चात चिकित्सक, नर्सिङ, इन्जिनियरिङ, पारामेडिकल, आइटी, एमएस्सीलगायतका क्षेत्रमा जान र सोहीअनुुसार आफ्नो करियर बनाउन सकिन्छ ।

शिक्षा समूहअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, जनसंख्या शिक्षा, मनोविज्ञान, बालविकास, मूल्यांकन पद्धति, पाठ्यक्रम विकासजस्ता विषयहरूमध्ये तीनोटा विषयहरू अध्ययन गर्नुपर्दछ । मानविकी तथा समाजशास्त्रअन्तर्गत अंग्रेजी, नेपाली, गणित, अर्थशास्त्र, भूगोल, राजनीति शास्त्र, समाजशास्त्र आदिजस्ता विषयहरू रहेका छन् । यी विषयहरुको अध्ययनबाट शिक्षक, प्रोफेसर, सामाजिक कार्यकर्ता,एनजिओ तथा आइएनजिओ लगायतका संस्थाका कर्मचारीलगायत विषय विज्ञका रुपमा रहेर काम गरी आफ्नो भविष्य बनाउन सकिन्छ ।

कानून तथा न्यायका क्षेत्रमा रुचि छ र भविष्यमा बहस गर्ने वकिल, न्यायाधीश बन्ने लक्ष भएमा कानुनको अध्ययन गर्नुपर्ने हुन्छ । मेडिकल साइन्स तथा प्राविधिक धारतर्फ पनि अध्ययनका लागि पनि थुप्रै विषयहरु छन् । मेडिकलतर्फ स्टाफ नर्स, एच.ए., फार्मेसी, सिएमए, एसिस्टेन्ट, रेडियोलोजी जस्ता विषय रहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रको मिति २०७७/०६/०२ अनुसार कक्षा ११ मा भर्नाका आधारहरूमा कक्षा ११ मा विज्ञान विषय लिई अध्ययन गर्नका लागि जिपिए १.६ ल्याई अङ्ग्रेजी, अनिवार्य गणित र विज्ञान विषयमा फाइनल ग्रेड C+ हुनुपर्छ । कक्षा ११ व्यवस्थापनतर्फ गणित विषय लिई अध्ययन गर्नेहरूका लागि जिपिए १.६ ल्याई अङ्ग्रेजी, अनिवार्य गणित र विज्ञान विषयमा फाइनल ग्रेड C± हुनुपर्छ । कक्षा ११ मा व्यवस्थापन विषय लिई अध्ययन गर्नका लागि न्यूनतम औषत ग्रेडपोइन्ट जिपिए १.६ भए पुग्दछ ।