बुटवल । संसदीय समितिले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरूसँग छलफलपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दासमेत १८.४४ प्रतिशत मात्र भौतिक प्रगति भएको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताइन् । उनले सरकारले ठेक्का रद्द गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन निर्देशनसमेत दिइन् । मित्र राष्ट्रहरूको निर्धारित सर्तसहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरोन्नति भइरहेका राष्ट्रियस्तरका तथा अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरूको निर्माणमा राष्ट्रको हित नहुने सम्झौता तत्काल समीक्षा गरी पुनरावलाेकन गर्न पनि उनले निर्देशन दिइन् ।
‘आयोजनाको निर्माण अवधि सकिनै लाग्दा अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभापति खड्काले भनिन्, ‘समयमा नै आयोजना सम्पन्न गर्ने विषयमा न्यून र निराशाजनक कार्यप्रगतिको कारण आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउँदा आयोजनाको लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न गर्न तत्काल समीक्षा गरी उपयुक्त निर्णय लिन समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।
प्रतिक्रिया