ताजा अपडेट »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चार्टर्ड फ्लाईट

बुधबार, ११ साउन २०७९

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण भएको छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर १२ सिटे हाई (एचएआई) एयरको हाइ ४९९ प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा बुधबारअवतरण भएको हो ।

दिउसो सवा १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको यो बिमानले २ जना भियतनामी व्यापारी लिएर आएको हो । साउन १६ गते सम्म बिमानस्थलमै पार्किङ गरि राख्ने बिमानस्थलका टर्मिनल ब्यवस्थापन शाखा प्रमुख रमेश महतले जानकारी दिए । ५ दिन पछि उक्त बिमान काठमाण्डौं हुदै भियतनाम फर्किने कार्यक्रम रहेको छ ।

यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए । वैशाख २८ गते भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको थियो । जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै उक्त विमानस्थलबाट अहिले जजिरा एयरवेजले सातामा ३ वटा उडान गरिरहेको छ ।