ताजा अपडेट »

बैंकिङ कसुरमा फरार बुटवलका एक युवा पक्राउ

बुधबार, ११ साउन २०७९

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का कृष्णबहादुर शाही बैंकिङ कसुरमा फरार रहेको आरोपमा फक्राउ परेका छन् । उनले चेकबाउन्स मुद्दामा अदालतले तोकेको फैसला अनुसारको जरिवाना तथा विगो नतिरी भागेपछि प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सालझण्डीले आईतबार सैनामैना नगरपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

हाल काठमाण्डौं टोखा नगरपालिका–१६ बस्दै आएका ३४ वर्षीय कृष्णले आफ्नो खातामा रकम नभएको जान्दाजान्दे पनि पीडितलाई चेक काटेर दिएपछि उच्च अदालत पाटनमा उजुरी परेको थियो । उक्त मुद्दामाथि फैसला गर्दै अदालतले १३ लाख २० हजार बराबरको जरिवाना तथा सोही अनुसारको विगो तिर्नु पर्ने आदेश दिएको थियो । उक्त फैसलापछि फरार रहेका शाहीलाई खोजतलास गर्ने क्रममा सालझण्डी प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

शाहीले २०७५ साल चैत्र ५ गते एनसीसी बैंकमा रहेका आफ्नो खाताको चेक काटेर पीडितलाई दिएका थिए । उक्त खातामा पैसा नभएको थाहा पाएपछि पीडितले भुक्तानीका लागि ताकेता गर्दा पनि नपाएको भन्दै अदालत पुगेका थिए । अदालतले २०७७ जेठ २६ गते विगोसहित जरिवाना तिराउने गरी पीडितको पक्षमा फैसला गरेको थियो ।