बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा कुनै पनि निर्णय तथा सुचनाविना करारका कर्मचारी हटाएपछि उत्पन्न विवाद अझै सुल्झिएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बजुल निर्णय गराएर पुराना कर्मचारीलाई विदाई तथा नयाँ कर्मचारी नियुक्तिको विवाद समाधान हुन सकेको छैन ।
आफूहरुलाई कुनेपनि जानकारी नै नगराई ९ जना करारका कर्मचारीलाई निलम्बन तथा ११ जना नयाँ कर्मचारी थप गरिएको बिरोधमा उपप्रमुखसहित ६ जना वडाअध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख, जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । कुनै प्रक्रिया नै पुरा नगरी आफ्ना मान्छेलाई करार तथा ज्यालादारीमा नियुक्त गरिएकाले सो कार्यको पुर्नविचार गरी खारेज नगरेमा आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने उनीहरुले चेतावनी दिएका छन् ।
उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ का अध्यक्ष सुरज कलवार, ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, ४ का अध्यक्ष विनोद श्रीवास्तव, ७ का अध्यक्ष ध्रुप यादव, १० का अध्यक्ष विनोद कहाँर र १२ का अध्यक्ष हरिकेश लोधले नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईलाई प्रत्येक्ष भेटेर सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
‘नगर परिषद र नगर सभाको नाउमा वार्षिक नियमित बजेट मात्र छलफल भई पारित भएको र अन्य कुनै पनि एजेण्डाहरु टेबुल नै नगरी र छलफलमा नल्याई आफ्ना पार्टी, नेता कार्यकर्ताको आग्रहमा प्रमुख प्रशासकीय अधिकृतको मिलेमत्तोमा नयाँ कर्मचारी नियुक्त गरिएकाले यस्ता कार्यहरुको नेकपा (एमाले), लोसपा नेपाल र जनमत पार्टीबाट निर्वाचित उपप्रमुख, वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु घोर भत्र्सना गर्दछौं ।’–ज्ञापनपत्रमा उल्लेख छ ।
‘नगरप्रमुख लगायत नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु तथा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालका जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतको हैसियतले गरेका यस्ता कार्यहरुको तुरुन्त पुर्नविचार गर्नुपर्छ ।’–ज्ञापनपत्रमा भनिएको छ । कर्मचारी हटाउने र नयाँ कर्मचारी नियुक्त गर्ने कार्यको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्थामा तालाबन्दी समेत गर्न पछि नपर्ने उनीहरुले चेतावनी दिएका छन् । १३ वटा वडा रहेको लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको छ । त्यस्तै एमालेले ५, कांग्रेस, जसपाले ३/३, तथा लोसपा र जनमत पार्टीले १/१ वडा जितेका छन् ।
प्रतिक्रिया