ताजा अपडेट »

स्थानीय सरकारले गर्न नसकेको काम गर्दै रुपन्देहीका ‘कन्हैया’

मंगलबार, १० साउन २०७९

भैरहवा । पानीको सदुपयोग गरि सिंचित क्षेत्रमा कृषि प्रणालीलाई सुधार ल्याई कृषि उपजमा वृद्धि गर्ने उद्देश्य सहित मर्चवारमा मर्चवार लिफ्ट सिचाइँको निर्माण गरिएको थियो । करिब ५ हजार ६ सय हेक्टर सिंचाई गर्ने लक्ष्य सहित २०३८ सालदेखी निर्माण सुरु भएको यो आयोजना सुरुका दिनमा मर्चवारमा सिचाइँको मूख्य श्रोत थियो ।

पछि विद्युतको समस्या, राजनैतिक उतार चढाव, कृषिमा आधुनिकिकरण लगायतको कारण बिस्तारै यो सिमित क्षेत्रमा खुम्चिदै गयो । आयोजनाको पम्पिङ्ग स्टेशन रहेको नजिक मात्र सेवा दिन सकेको कारण मर्चवारका किसान फेरी अकाशे खेतीकै भर परेका छन् । यस वर्ष साउन १० गते भई सक्दा पनि तराई क्षेत्रमा पानी पर्न सकेको छैन् । जिल्लाकै अन्न भण्डारको रुपमा रहेको मर्चवार अहिलेसम्म पुरै हरियो हुनु पर्ने हो । तर वर्षाको अभावमा अझै कतिपय स्थानमा रोपाई समेत हुन सकेको छैन । आकाशे खेतीको भर परेका मर्चवारका किसानलाई यस वर्ष वर्षाले पनि साथ दिएन ।

मर्चवार लिफ्ट सिचाइँ आयोजनाको कारण केही क्षेत्रमा रोपाई सकिए पनि यसको दक्षिणी क्षेत्र सेमरा तर्फ रोपाई नै सुरु हुन सकेको थिएन । नहर भए पनि यसमा पानी नआएको बर्षौ भएको थियो । ठाउँ ठाउँमा भत्केको र पुरिएको कारण नहरमा पानी आउने सम्भावना पनि कम थियो। वर्षा नहुँदा किसानको छटपटीलाई स्थानीय युवा कन्हैया बनियाले महशुस गरे । ३३ वर्षिय बनियाले सेमराका किसानका लागि नहरको पानी कसरी पु¥याउन सकिन्छ भनेर अध्ययन गरे । अनि आफ्नै लगानीमा नहरको मर्मत सुरु पनि गरे । करिब ६ दिनको प्रयास पछि अहिले सेमरासम्म पानी पुगेको छ । यहाँका किसानले पनि रोपाई सुरु गरेका छन् ।

आकाशे खेतीकै भर परेका सेमराका किसान वर्षौ पछि नहरको पानी खेतमा पानी लगाउन पाएका छन् । यसले उनीहरुको केही आशा थपिएको छ । स्थानीय तहले पनि ध्यान दिन नसकेको काम स्थानीय युवाले गरि दिए पछि अहिले यहाँका किसान उनि प्रति खुशी भएका छन् । खडेरीका कारण रोपाई गर्न नपाएका उनिहरु बनियाँलाई आर्शिवचनले धन्यवाद प्रकट गरिरहेका छन् । स्थानीय ज्ञानमति लोनियाले पहिला आकाशे पानीले नै खेती गरि रहेको बताईन । “पहिला पहिला वर्षाबाट खेती गर्ने गरेका थियौ, वर्षा नहुँदा पोखरीहरुमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका थियौ ।” उनले भनिन् “ यो वर्ष त वर्षा नै भएन, पोखरीहरु पनि सुके, बोरिङ्गले समेत पानी दिएका छैनन् । कन्हई बाबुले खै कसरी कसरी नहरमा पानी ल्याएका छन्, यसले नजिकै रहेकालाई रोपाई गर्न सहज भएको छ ।”

सिचाइँको समस्या रहे पनि स्थानीय तहदेखी संघीय सरकारले केही सहयोग नगरेको स्थानीयहरुको आरोप रहेको छ । सिचाइँको नाममा केही आसेपासेलाई कृषि बोरिङ्ग प्रदान गरे पनि खडेरीका कारण त्यो पनि सञ्चालनमा आउन सकेको छैन् । गाउँपालिकाकै अगाडीबाट नै नहर गए पनि यसको मर्मत र पानी ल्याउने तर्फ गाउँपालिकाले कहिल्यै ध्यान नदिएको स्थानीय साधुशरण यादव र महङ्गु लोनियाले गुनासो गरे । उनले पनि कन्हैया बनियाकै कारण सयौ बिगहा खेती रोपाई गर्न सम्भव भएको बताए ।

स्थानीय सरकारले पनि नगरेको काम कन्हैया बनियाले सुरु गरेका छन् । सयौ बिगहा जग्गा सुख्खा देखे पछि नजिकै रहेको नहरलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर नहरको मरम्मत गराएको उनले बताए । “यँहा ९० देखी ९५ प्रतिशत किसान छन, यस वर्ष पानी नै परेन, खडेरी प¥यो ।” बनियाले भने “आफ्नै समाजका लागी केही गर्न सक्छु भनेर करिब ६ दिन आफ्नै खर्चमा डोजर लगाएर नहरको मरम्मत गराएको छु ।”
सबैले स्थानीय सरकारको मात्रै मुख ताकेकोले यो अवश्था आएको उनको भनाई छ । स्थानीय सरकारले नगरे हामी पनि आफ्नो तर्फबाट पहल गरे केही सुधार गर्न सकिन्छ भनेर बनियाले एउटा गतिलो उदाहरण पेश गरेका छन् ।