ताजा अपडेट »

जसपा सिद्धार्थनगर अध्यक्षमा रवि रौनियार

शनिबार, ०७ साउन २०७९

भैरहवा । जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगर पालिकाको अध्यक्षमा युवा नेता रवि कुमार रौनियारलाई मनोनित गरेको छ ।
शनिबार भैरहवामा बसेको जसपा नेपाल रुपन्देहीको बैठकले रौनियारलाई पार्टीको नगर अध्यक्ष पदमा मनोनित गरेको पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले जानकारी दिए ।

यसअघि सो पदमा भैरहवाकै अर्जुन कुमार जयसवाल रहेको थिए । स्थानीय तह निर्वाचनमा भैरहवाबाट मेयर पदका आकांक्षी रहेका जयसवालले पार्टीबाट टिकट नपाए पछि असन्तुष्टि जनाउँदै सो पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि खाली रहेको नगर अध्यक्ष पदमा युवा नेता रवि कुमार रौनियारलाई मनोनित गरिएको हो ।

आफ्नो आमाको सम्झनामा मायादेवी च्यारेटिबल फाउण्डेशन स्थापना गरि २५ रुपैयाँमै विपन्नहरुलाई खाना खुवाएका रौनियार नगरका चिर परिचित अनुहार हुन् । यसबाहेक उनले कोभिडको समयमा अस्पताल आउने बिरामी, उनिहरुको कुरुवा, क्यारेन्टाईनमा बसेका ब्यक्ति एवम् अन्य सर्वसाधारणलाई समेत खाना खुवाएका थिए ।

रौनियार आमाकौ नामबाट रहेको संस्थामार्फत विद्यालय भवन निर्माणदेखि फुड बैंक लगाएत विभिन्न सामाजिक क्रियाकलापमा आवद्ध रहेका छन्।