ताजा अपडेट »

रहस्यमयी ढङ्गले नागरिकता विधेयक पारित : एमाले उपमहासचिव ज्ञवाली

शनिबार, ०७ साउन २०७९

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले रहस्यमयी तरिकाले नागरिक विधेयक पारित भएको टिप्पणी गरेका छन् । लामो समयसम्म अडान राख्दै आएको नेकपा माओवादी केन्द्रले समेत परिवर्तन भएर विदेशीलाई सहजहुने गरी नागरिकता आउनु रहस्यमयी भएको उनले उल्लेख गरे । नागरिकता विधेयकमा भएका असहमतिहरुबाट पछि हटेर माओवादीले आफ्नै साँसदहरुको भावनामा चोट पु¥याएको बताए । प्रेस चौतारी रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले माओवादी केन्द्रकै साँसदहरुले संशोधन प्रस्ताव राखेको नागरिकताको बैबाहिक अंकिकृत नागरिकताको एजेण्डा बिपरित बिधेयक पास गरिएको बताए ।

नोकरी, ब्यापार, ब्यवसाय र अन्य क्रियाकलाप गर्न दिएपनि बिबाह गरेर ल्याईए लगत्तै नागरिकता दिनु पर्ने मागको एमालेले पहिले पनि बिरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताए । बैबाहिक अंगिकृत बाहेकका अन्य एजेण्डामा भने सरल र सहज तरिकाले हरेक नेपालीले नेपाली नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उनले प्रष्ट पारे ।

फरक प्रसङ्गमा उनले आगामी निर्वाचनमा गठबन्धन नगरि चुना जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसीनु पर्छ भन्ने मान्यताबाट टाढा रहेको बताए । ‘सत्ता नै सबै कुरा हो भनेर जो सँगपनि लहसीने काम एमालेले गर्देन ।’ उनले भने । यद्यपी बाम घटकहरु बीच मुलुकको समृद्धि र राष्ट्रियताका लागि सहकार्यको ढोका भने खुलै रहेको बताए । काँग्रसले चुनाव जित्दा खुसी बनाउनेहरुलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्विकार गरेर देश विकास र समृद्धीको एजेण्डा मिल्नेहरुसँग भने चुनावी एकता हुन सक्ने बताए ।

पछिल्लो समय काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्ने गरि मात्र गठबन्धन गर्ने गरि गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको उनले बताए । काँग्रेसलाई तर्साउनकै लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाईएको बताए । ‘अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाईएको थियो, त्यो फेल खायो अव बाम एकताको फन्दा चलाईएको छ ।–ज्ञवालीले भने, त्यस्ता फण्डाहरु आइरहन्छन् ।