ताजा अपडेट »

चलचित्र 'प्रकाश' प्रवर्द्धनका लागि नायक प्रदिप खड्का र नायिका दिया मास्के बुटवलमा

शुक्रबार, ०६ साउन २०७९

बुटवल । लभरबोईको छवि छाड्ने चुनौती बोकेर 'प्रकाश' बन्दै कर्णालीको युवाको चरित्रमा अभिनय गरेका अभिनेता प्रदिप खड्काको अलग छवि रहेको फिल्म ‘प्रकाश’ को टोली शुक्रबार बुटवल आएको छ । मँगलबार ट्रेलर सार्वजनिक गरेलगत्तै प्रचार-प्रसारमा जुटेको उक्त टोलीले बुटवलमा आएर दर्शकको राम्रै साथ पाउने दाबी गरेको छ । 

नायक प्रदिपले 'प्रकाशबाट आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताए । ‘मैले पहिले फिल्ममा गरेको भूमिका भन्दा भिन्न भूमिका गरेको छु। सुरु-सुरुमा यसका परिणामलाई लिएर अलि दुबिधा थियो। तर पोस्टर र टिजरमा पाएको मायाले भोलि परिणाम जेसुकै भए पनि आज चाहिँ सन्तुष्ट छु।’-उनले भने । चलचित्रले विकट गाउँमा रहेको यथार्थलाई जिवन्त बनाउने गरि प्रस्तुत गरेको नायक खड्काले बताए । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीप र दिया मास्केसँगै रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीको अभिनय रहेको छ। बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

चलचित्रलाई जीवन्त बनाउनका लागि आफ्नो भरपुर प्रयास रहेको दाबी गर्दै नायिका मास्केले चलचित्रले दर्शकलाई हलसम्म तान्ने मात्र होइन पूर्ण सन्तुष्टि दिन सक्ने दाबी गरिन ।

सार्वजनिक भएको २ मिनेट १४ सेकेन्डको ट्रेलरमा माओवादी द्वन्द्वको प्रभाव देखाउने प्रयास गरिएको छ । ट्रेलरमा प्रकाश बनेका प्रदीप र उनको आमाको भूमिकामा रहेकी अभिनेत्री दिया मास्के हाबी देखिएका छन्। ट्रेलरमै दियाको कर्णालीको स्थानीय लवजसँगै । फिल्म ‘प्रेम गीत’मा पर्दामा प्रदीपलाई देखेका उनका फ्यानहरूका लागी प्रकाशको चरित्र सरप्राइज हुने अपेक्षा गरिएको छ।