ताजा अपडेट »

लुम्बिनी सरकारको लापरवाही : बजेटमा बाग्मती, गण्डकी र कर्णालीका योजना

विहीबार, ०५ साउन २०७९

बुटवल । लुम्बिनी प्रदेश सकारले वार्षिक बजेट तथा कार्यक्रम निर्माणमा हेलचेक्रयाई गरेको भेटिएको छ । वार्षिक बजेट निर्माण जस्तो संवेदनशिल र महत्वपूर्ण विषयमा देखिएका त्रुटिले सरकारको कार्य क्षमतामाथि प्रश्न उठेको छ । आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत योजना तथा कार्यक्रममा अन्य प्रदेशका ४ वटा योजनाका लागि करिब पौने करोड रकम विनियोजन भएको देखिन्छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेटमा बागमती, गण्डकी र कर्णाली प्रदेशका समेत योजनाहरु परेका छन् । कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै ल्याएको बजेट निर्माणमा अन्य प्रदेशका योजनाहरुलाई ‘कपि पेस्ट’ गेरर झारा टार्ने काम भएको छ । लुम्बिनीको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयले छनोट गरेका ४ वटा योजना अन्य प्रदेशका परेका हुन् । योजनामा २ वटा बागमती तथा गण्डकी र कर्णाली प्रदेशका कार्यक्रमहरु समावेश गरिएका छन् ।

लुम्बिनी प्रदेशको बजेटमा बाग्मती प्रदेशमा रहेको त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज र स्वास्थ्य सेवा विभाग टेकु परिसर भित्र ‘सडक सुधार, ममर्त सुधार, काठमाडौं’ का नाममा २१ लाख ५४ हजार बजेट विनियोजन भएको छ । यसैगरी ‘फुटुङ साङलेखोला देखि पश्चिम साविकको कृषि सडक भई दक्षिणतर्फ तल्लो खहरे सम्मको मोटरबाटो स्तरउन्नती तारकेश्वर ७ काठमाडौं’का लागि पनि २१ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यी दुबै बजेटमा कार्यालय रहेको जिल्लामा रुपन्देही उल्लेख छ । त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जको बजेट खर्च शिर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१३ हो । त्यस्तै तारकेश्वर ७ को बजेट शिर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१४ हो ।

त्यस्तै गण्डकी प्रदेशमा रहेको ‘तालबेसी लिप्यानी चमेरेओडार मिजुरे सडक कास्की’का लागि २१ लाख ५४ हजार बजेट विनियोजन भएको छ । कर्णाली प्रदेशको ‘सल्यान खलङगा–कालिमाटी रामपुर काल्चे घुइयाबारी–कोहलपुर सडक’का लागि ४ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । कास्कीमा बजेट विनियोजन भएको बजेट खर्च शिर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१२ हो । त्यस्तै सल्यान सडकको बजेट खर्च शिर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१५ हो । यसरी लुम्बिनी प्रदेश सरकारले ६९ लाख १६ हजार रकम बराबरको योजना तथा कार्यक्रम अन्य प्रदेशबाट कपि पेस्ट गरेको हो ।

एउटा प्रदेशको बजेट अर्को प्रदेशको योजना बजेट पुस्तिकामा समाबेश हुनुलाई अर्थविज्ञहरुले भने चरम लापरबाहीको पराकाष्ठ भनेका छन् । अर्थविद् मनिकर कार्कीले प्रदेशले नीति कार्यक्रम, बजेट बनाउँदा यहांका प्राथमिकतामा भन्दा पनि संघिय सरकारले तयार गरेर पठाएको निती, बजेटका शिर्षकहरु तलमाथी, कपि पेष्ट गर्दा नै अन्य प्रदेशका कार्यक्रम लुम्बिनी प्रदेशमा परेको बताए । कर्मचारीहरुले समेत संघबाट आउने बजेटको फर्म्याट तलमाथी मात्रै गराउने गरेको उनी बताउँछन् । आफ्नो प्रदेशलाई समृद्ध बनाउन योजना छनोट, प्राथमिकताका विषयमा नेतृत्व गम्भिर बन्नुपर्नेमा संघबाटै गराईने बजेट, नीति कार्यक्रमको फरम्याटमा तलमाथी बनाउने, शिर्षक केही थप्ने मात्र काम गर्दा पनि प्रदेशका योजना जनमूखि नहुने उनले बताए ।

अर्थ मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले यस विषयमा आफूलाई हालसम्म कुनै पनि रिपोर्टिङ नआएको र थप बुझेर अघि बढ्ने प्रतिक्रिया दिए । बजेट निर्माण गर्ने समयमा आफू नभएको र यस्तो हुनुको कारण बारे गम्भिर भएर ध्यान दिने उल्लेख गरे । हालै अर्थ मन्त्रालय अन्तरगत आएका सचिव सुवेदीले बजेटमा देखिएको त्रुटि मन्त्रालयको कमजोरीका कारण भएको नभएको बारे बुझेर मात्रै भन्न सक्ने बताए ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भिमार्जुन पाण्डेले भने संघीय सरकार अन्तरगतको अर्थ मन्त्रालयको कमजोरीका कारण यस्तो भएको दाबी गरे । संघीय अर्थमन्त्रालयले ससर्त अनुदान पठाउने क्रममा उक्त शिर्षकका बजेट तथा कार्यक्रम लुम्बिनीमा पठाएपछि तस्ताको त्यस्तै यहाँको बजेटमा प्रस्तुत गरिएको उल्लेख गरे । विनियोजन गरिएको उक्त बजेटको पछि शिर्षक मिलान वा बजेट नै फिर्ता समेत हुन सक्ने उनले बताए ।

लुम्बिनी प्रदेशका पुर्व भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकार नीति, सिद्धान्त विहिन भएर बजेट ल्याउँदा यस्तो भएको बताए । सिद्धान्तबाट विचलन भएका कारण बजेटमा क्रुटि भएको उनको भनाई छ । ‘कुनै पनि परम्परा, रिति, नीति, सिद्धान्त अनुसार बजेट छैन् । एउटा प्रदेशको बजेटमा अर्को प्रदेशको योजना आउनु गैर जिम्मेवारीको पराकाष्ठ हो ।’ उनले भने । उनले प्रदेशबासीका आकांक्षा, आवश्यकताका आधारमा बजेट ल्याएको भए यस्ता गम्भिर क्रुटि बजेटमा नदेखिने गरेको बताए । कुनै पनि योजना विहिन र लक्ष्य विहिन रहेको बजेट जनताका आवश्यकता भन्दा पनि नेताहरुकै रजगजमा बजेट पारेको समेत उनले बताए ।