ताजा अपडेट »

प्रहरी हवल्दार कुट्ने कार्यकर्ता छुटाउन लुम्बिनीका मुख्यमन्त्री केसी र नेता वर्षमानको दबाब

बुधबार, ०४ साउन २०७९

बुटवल । प्रहरी हवल्दारलाई मरणासन्न हुने गरी कुटेर गम्भीर घाइते बनाउने माओवादीका कार्यकर्ता छुटाउन माओवादी नेता वर्षमान पुन तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दवाव दिएका छन् । मंगलबार बेलुका त्रिवेणी गाउँपालिका वडा नं ७ अँधेरीखोलामा सोही ठाउँका प्रहरी हवल्दार रामकुमार बाँठालाई सोही वडामा माओवादीबाट वडाध्यक्षमा पराजित खिमबिकmम केसी, केशव बिसीसहित ९ जनाको समूहले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका थिए । तर माओवादी नेताहरुको दवावमा आक्रमण गर्नेलाई छाड्न र मुद्दा दर्ता गर्न समेत नदिइएको पीडित पक्षले जनाएको छ ।

मंगलबारको घटना भएपनि प्रहरीले बुधबार साँझसम्म मुद्दा दर्ता नगरी मेलमिलाप गर्न दवाव दिएकाले आफूलाई छटपटी भएको घाइते बाँठाले आफन्तलाई बताएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम रहेको प्रहरीले जनाएको छ । सो वडाका वडाध्यक्ष मानबहादुर घर्तीले घरबिदामा गएका प्रहरी हवलदार बाँठा स्थानीय माओवादी कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते भएको र प्रहरीले समेत घाइतेलाई साथ नदिएको स्थानीयले सुनाएको बताएपनि आफू दाङ रहेकाले सबै विषयमा जानकार नरहेको बताए ।

घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिमविक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।
डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए। बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो। मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो ? भनेर सोधेपछि विवाद सुरु भएको थियो। उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको डिएसपी घिमिरेले बताए।

पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन्। घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले बताएका छन्। घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई छुटाउन पहल गरेको घाइतेका आफन्तले आरोप लगाएका छन् ।

चौधरी आफै मदिरा सेवन गरेर बसेको तर घाइतेले मदिरा सेवन गरेको रिपोर्ट पठाएर उल्टो अन्याय गरेको घाइतेका आफन्त मानबहादुर बुढाले बताए । उनले माओवादीका नेताहरु पीडकलाई छुटाउन लागेकाले कारबाहीका लागि पहल गरिदिन भाइले आग्रह गरेको उनले बताए ।