ताजा अपडेट »

वर्षा नभएपछि रुपन्देहीका किसान निराश, पानी पार्न अनेक उपाय लगाउँदै

बुधबार, ०४ साउन २०७९

भैरहवा । मलकै अभावमा जसोतसो खेत रोपेका किसानलाई अहिले प्रकृतिले पनि ठगेको छ । लामो समय देखी वर्षा नभए पछि किसानहरु निराश हुन थालेका छन् । रोपाई भएको खेत पुरै सुकेको छ भने रोपिएको धानका कलिला बिरुवा पनि सुक्न थालेका छन् ।

लामो समय वर्षा नभएपछि किसानहरुले वर्षा गराउन अनेक पराम्परागत उपाय अपनाउन थालेका छन् । वर्षा हुने आशा सहित कतै जनप्रतिनिधिलाई बाँधेर मन्दिर पु¥याईएको छ भने कतै हुलका हुल महिला स्थानिय सिंहदरबार पुगेरै जनप्रतिनिधिलाई नुहाईदिने गरेका छन् । गाउँघरमा महिलाहरु पराम्परागत गीत गाउँदै घर घर डुल्दै पानी सापट समेत मागी रहेका छन् ।

बुधबार रुपन्देहीको सियारी गाउँपालिकामा पनि यस्तै दृश्य देखियो । सियारी गाउँपालिकाको बोहोरवाका महिलाहरु गाउँपालिका अध्यक्षलाई नुहाई दिन सियारी गाउँपालिकाको कार्यालयमै पुगे । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे आफ्नो नियमित कामको सिलसिलामा कार्यालयमै रहेका उनी कार्यकक्षबाट झरेर महिलाहरुको ईच्छा पुरा गरि दिए । असार साउनमा पनि खडेरी प¥यो भने स्थानीय पराम्परा अनुसार गाउँका अगुवा, ठूला बडा, जनप्रतिनिधिलाइ स्नान गराईयो भने ईन्द्र भगवान खुशी भएर वर्षा गराउने मान्यता रहेको छ । सोही मान्यता अनुसार स्नान गराउन आएका महिलाहरुले नुहाईदिएको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

उनले फरक फरक गाउँका महिलाहरु आफै घर वा कार्यालय पुगने गरेको तथा कुनै समूहले गाउँमै नुहाईदिनको लागी बोलाउने गरेको बताए । स्थानीयहरुको पराम्पराको सम्मान गर्दै आफु पनि उनीहरुको कार्यमा सहभागी हुने गरेको घिमिरेको भनाई छ । खेतमा हरियाली हुने र किसानले आफ्नो बाली राम्रो हुने आशा सहित गाउँपालिका अध्यक्षलाई नुहाईदिन आएको बहोरवाकी गोमा थारुले बताईन ।

वर्षा माग्दै बहोरवाका महिलाहरु हिजैदेखि स्थानीयहरुलाई नुहाई दिँदै आएका थिए । हिजो मंगलबार नुहाईदिए पछि अलि अलि वर्षा भएको स्थानिय नारायणी चौधरीले बताईन । प्रयाप्त वर्षाको लागी बुधबार स्थानीय प्रधान, अगुवा संगै गाउँपालिका अध्यक्षलाई नुहाईदिन आएको उनको भनाई थियो ।