ताजा अपडेट »

श्रीलङ्काको आर्थिक र राजनीतिक तनावले नेपालीहरूलाई किन झस्काउँछ ?

मंगलबार, ०३ साउन २०७९

काठमाण्डौं । श्रीलङ्कामा हालै देखिएको आर्थिक र राजनीतिक सङ्कट नेपालमा पनि देखिन सक्ने चिन्ताले धेरैलाई झस्काएको विभिन्न खाले सार्वजनिक अभिव्यक्तिहरूमा देखिन्छ।

करिब उस्तै किसिमको राजनीतिक र आर्थिक बेथितिले नेपालमा पनि श्रीलङ्काको जस्तै सङ्कट आउने त होइन भन्ने चिन्ता व्यक्त भएका पाइन्छन्।

कतिपय जिम्मेवार व्यक्तिहरूले पनि नेपालमा श्रीलङ्काको जस्तै समस्या आउन सक्ने चेतावनी दिएका विवरणहरू केही महिनायता सञ्चार माध्यममा आइरहेका छन्।

तर धेरै कारणहरूले नेपालको अवस्था श्रीलङ्कासँग दाँज्न नमिल्ने विश्लेषक तथा सरकारी अधिकारीहरूको जिकिर छ।

श्रीलङ्कामा बस्दै आएका हिमाल साउथ एसियनका प्रधान सम्पादक शुभाङ्ग पाण्डे नेपालको परिस्थिति श्रीलङ्काको भन्दा फरक रहेको बताउँछन्।

"नेपालमा पनि आर्थिक समस्याहरू आउँदै गरेको भएर त्यस्तो चिन्ता हुनु जायज हो। तर कति कुरामा चाहिँ अलि अतिशयोक्ति जस्तो पनि लाग्छ किनभने आर्थिक रूपले नेपालको समस्या श्रीलङ्काकै जस्तो समस्या होइन," गत साता बीबीसी नेपालीसँग कोलोम्बोबाट टेलिफोनमा उनले भने।

विदेशी मुद्राको सञ्चिती हेर्दा पनि नेपाल श्रीलङ्का जस्तो छैन। राजनीतिक रूपमा हेर्दा पनि यहाँको राजनीतिक उतारचढावका समस्या अर्कै खालका छन्।"

श्रीलङ्काको अवस्थासँग नेपालीहरू झस्कनुका पछाडि दक्षिण एसियाली दुई देशबीच रहेका केही समानताहरू देखिन्छन्।

सशस्त्र द्वन्द्वबाट तङ्ग्रिएका देश

नेपाल र श्रीलङ्का दुवै देश सन् २००० को पहिलो दशकमा सशस्त्र द्वन्द्व वा गृहयुद्ध अन्त्य भएर शान्तिपूर्ण र प्रजातान्त्रिक राजनीतिक अभ्यास गरिरहेका देशहरू हुन्।

श्रीलङ्कामा तमिल विद्रोहीलाई त्यहाँको सरकारले पराजित गरेपछि सन् २००९ मा गृहयुद्ध अन्त्य भएको थियो। यो टापु राष्ट्रमा २५ वर्षसम्म चलेको गृहयुद्धमा ८० हजारभन्दा बढी मारिएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ। नेपालले पनि सन् १९९६ देखि २००६ सम्मको एक दशक माओवादी विद्रोहीबाट सशस्त्र द्वन्द्वको सामना गर्‍यो।

नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा कारक मानिएको माओवादी द्वन्द्वमा ठूलो आर्थिक तथा भौतिक क्षतिसँगै १७,००० मानिसले ज्यान गुमाएका थिए। वार्ताको माध्यमबाट हतियार बिसाएर माओवादी शान्तिपूर्ण राजनीतिमा सामेल भएपछि नेपालमा द्वन्द्व अन्त्य भएको थियो।

तमिल विद्रोहीमाथि विजय हासिल गरेपछि प्रशंसा पाएका तत्कालीन राष्ट्रपति महिन्द राजपक्षले युद्धपछि राजनीतिमा आफ्नै दाजुभाइहरूलाई मात्रै च्यापेको आरोप लाग्यो। "युद्धपछि एउटा परिवार र परिवार वरिपरि रहेको एउटा राजनीतिक नेतृत्वले समाज, राष्ट्र र सरकारलाई कसरी डोहोर्‍यायो त्यसले पनि यो समस्या निम्त्याएको हो," श्रीलङ्काको समस्याबारे सम्पादक पाण्डे भन्छन्। -बीबीसी