बुटवल । तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औं अधिवेशनको पाँचौं बैठक पनि स्थगित भएको छ । बजेट पारित गर्नका लागि आह्वान गरिएको बैठक स्थगित भएको यो तेस्रो पटक हो । नगर प्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गर्दै आएपछि तिलोत्तमा खर्चविहिन भएको छ । बजेट पारित नहुँदासम्म नगरका कुनै पनि बिकास निर्माण तथा कार्यलय सञ्चालनका लागि रकम निकासा गर्न पाइँदैन ।
आइतबार बजेट पािरतका लागि बोलाइएको बैठक नगरप्रमुखले स्थगित गरेपछि तिलोत्तमा दिनभर तनावग्रस्त बनेको थियो । नेकपा एमालेकोतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाउँदै नगरका प्रमुख प्रशासकीय अधिकृतको शैली आपत्तिजनक भएको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उपप्रमुख जागेश्वरी देवि चौधरीले प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालनीको कार्यकक्षमा ताला लगाउँदै राजिनामा समेत माग गरेका छन् । सोमबार दिउसो १ बजेका लागि बोलाइएको नगरसभा बैठक पनि एक सूरचना जारी गर्दै स्थगित भएको हो । मँगलबार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको सूचनामा जानकारी गराइएको छ । बैठक स्थगित भएसँगै तिलोत्तमाका राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
हिजो बैठकमा उपस्थित सदस्यहरुको संख्या पुग्दा पनि नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बैठक स्थगित गरेको एमालेका जनप्रतिनिधिहरुको भनाई छ । बैठक सुरुहुनुभन्दा अघि नै आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएको र बैठक सुरु भएलगत्तै हाजिर गर्न माग्दा प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले हाजिर गर्न नदिएर उपस्थित संख्या नपुगेको भनि बैठक स्थगित गरेको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए । यसअघि असार ३१ गते बोलाइएको बैठकमा पनि गणपुर संख्या नपुगेको भन्दै नगर प्रमुख खाँणले बैठक स्थगित गरेका थिए
प्रतिक्रिया