बुटवल । आइतबार दिउँसोदेखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रहरी र जनप्रतिनिधिबीचका धड्पकडका भिडियो सार्वजनिक भएका छन् । ती मध्ये एक प्रहरीले जनप्रतिनिधिलाई पानीमा धकेलेको भिडियोले भने आलोचनासँगै बढी चर्चा पाएको छ ।
ती प्रहरी हुन् इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी र जनप्रतिनिधि हुन् तिलोेत्तमा नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्री । भिडियोमा डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई स्विमिङ पुलमा धकेलेका छन् । तर, पौडी खेल्ने क्रममा भने होइन ।
आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँणलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई होतरेर पौडीपोखरीमा फालेका हुन् ।
नगरसभा मणिग्राम पार्टी प्यालेसमा आयोजना भएको थियो । नगरपालिकाको बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरिरहेका थिए । आक्रोशित डिएसीले वडाध्यक्षलाई पानीमा धकेलेपछि एमालेका अन्य जनप्रतिनिधिले प्रहरी दमनको चर्को विरोध गरेका छन् ।
नगरसभा सुरु भएसँगै मेयरले गणपूरक संख्या नपुगेको भन्दै रोक्न खोजेपछि उपमेयर जागेश्वरी चौधरीसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् । आइतबार पनि बजेट पास हुन सकेन भने प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीको योजनामा प्रहरीले वडाध्यक्षमाथि आक्रमण गरेको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको छ । भिडियोमा डिएसपीले लतारेर पौडीपोखरीमा पल्टाएको देखिएपनि प्रहरीले भने सामान्य धकेला–धकेल भन्दै उम्कन खोजेको छ । डिएसपी केसीले यसलाई सामान्य धकेला–धकेल भएको बताए ।
एमाले प्रदेश सदस्य मोहन चापागाईले गृहमन्त्रीको गृहनगरमा भएको ताण्डवनृत्यले तिलोत्तमावासीलाई आश्चर्यमा पारेका बताएका छन् । प्रशासनको आडमा भएको यो खालको गलत कामले नगरलाई कहाँ पुराउँछ, गृहमन्त्रीको आडमा यस्ता दम्भले नगरको विकास गर्दैन, दोषीलाई तत्काल कारबाही गरियोस् ।’-उनले भने ।
तिलोत्तमामा नेपाली काँग्रेस र नेकपा एमालेका जनप्रतिनिधिहरु बीचको बाझाबाझले अझैसम्म प्रस्तावित बजेट पारित हुन सकेको छैन । बजेट निर्माण अघि करको दायरा घटबढको विषयदेखि बाझाबाझ गरेका उनीहरु एकले अर्को पक्षलाई कमजोरी देखाउँदै बजेट पारित गरेका छैनन् । यस अघिका मेयर बासुदेब घिमिरे हुँदा मुलुककै उत्कृस्ट मध्यमा पर्ने नगरपालिका नयाँ नेतृत्वसँगै विवादित बनेको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना सुरु भएको छ ।
तिलोत्तमाको १२ अधिवेशनको चौथो बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने कार्य सुची रहेपनि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले बैठक स्थगित गरेपछि विवाद सिर्जना भएको थियो । प्रमुख खाँणले बैठक सुरु हुनेबेलासम्म एमालेका प्रतिनिधिहरु उपस्थित नभएपछि गणपुरक सङ्ख्या नपुगेको बताएका छन् । एमालेका प्रतिनिधिहरुले भने आफूहरु समयमै उपस्थित हँदाहुँदै पनि बैठक पुस्तिकामा प्रमुख प्रशािकीय अधिकृत जीवन थापाले नियतबस हाजिरा गर्न नदिएको गुनासो गरेका छन् ।
बजेट पास गर्न बहुमत संख्या आवश्यक पर्ने भएपनि ४१ जना कार्यपालिका सदस्यहरुले मात्रै उपस्थिति जनाएको नगर प्रमुख खाँणको दाबी छ । तिलोत्तमामा ९० जना कार्यपालिका सदस्य मध्ये १ जना जिल्ला समन्वय समितिमा गएपछि ८९ जना रहेका छन् । बहुमत सङ्या पुग्नका लागि कम्तिमा ४५ जना बढी सहभागी हुनु पर्ने हुन्छ । कार्यपालिकामा ४८ जना एमालेका प्रतिनिधि छन भने अन्य काँग्रेसबाट छन् । आइतबारको बैठकमा काँग्रेस प्रतिनिधिहरुले उपस्थित भएर पनि बैठक पुस्तिकामा हस्ताक्षर नगरेको एमालेको आरोप छ भने, काँग्रेस पक्षले एमाले तर्फका प्रतिनिधिले समयमा उपस्थिती नजनाएको आरोप छ ।
प्रतिक्रिया