ताजा अपडेट »

रुपन्देहीमा संघीय निर्वाचनमा यी नेताबीच हुने छ प्रतिष्पर्धा, कुन कति बलियो !

आइतबार, ०१ साउन २०७९
1 Shares

बुटवल । सँधै राजनीतिक शक्तिको केन्द्रमा रहिरहने जिल्ला हो, रुपन्देही । राजनीतिक दलहरु आउँदै संघ र प्रदेशको निर्वाचनमा केन्द्रित हुन लागि सकेका छन् । रुपन्देही हेभिवटका नेताहरुको निर्वाचन क्षेत्र भएकाले यहाँ सबैको ध्यान केन्द्रित छ । कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साता भित्रमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको तयारी छ ।

हालैसम्म स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेस उत्साहित देखिएको छ भने एमाले केही रक्षात्मक अवस्थामा पुगेको छ । स्थानीय तहको निर्वाचनमा एमाले केही कमजोरीका कारण पराजित भएको र त्यसलाई हेरेर रुपन्देहीमा एमाले कमजोर भयो भन्ने कुरामा कुनै सत्यता नरहेको जिल्ला अध्यक्ष तेजेन्द्र केसी दाबी गर्छन् । संघ र प्रदेशको निर्वाचनमा स्थानीय निर्वाचनमा भएका कमिकमजोरीलाई आत्मसाथ गरेर अघि बढ्ने र निर्वाचन आफ्नो पक्षमा आउने उनको दाबी छ ।‘ स्थानीय निर्वाचनमा विभिन्न कारणले गर्दा एमालेको पक्षमा नआएको सत्य हो । हाम्रा केही कमिकजोरीका कारण पनि हामी पराजित भयौँ । अब ती सबै कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्छौँ ।’–उनले भने ।

स्थानीय निर्वाचनमा सोचे जति नै सफलता प्राप्त भएको गरेको र संघ तथा प्रदेशको निर्वाचनमा पनि आफ्नो पक्षमा नतिजा आउने जिल्ला सचिव हरि काफ्ले दाबी गर्छन् । पार्टीका धेरै पदाधिकारी जनप्रतिनिधिमा निर्वाचित भएकाले बजेटको काम सकिए लगत्तै पार्टी संघ र प्रदेशको निर्वाचनमा केन्द्रित हुने उनी बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा राम्रो सफलता पाएका छौँ । साउनदेखि संघ र प्रदेशको निर्वाचनमा केन्द्रित हुन्छौंँ ।’ उनले भने ‘संघ र प्रदेशको निर्वाचनको नतिजा पनि हाम्रै पक्षमा पार्न पहिला केही कमजोरी भएका भए सुधार गरेर अघि बढ्छौँ।’

११ लाख १८ हजार ९७५ जनसंख्या रहेको रुपन्देहीमा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० वटा निर्वाचन क्षेत्र छन् । २०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाका ५ क्षेत्र मध्ये एमाले ३ र कांग्रेसले २ क्षेत्रमा जित निकालेका थिए । प्रदेशसभातर्फ एमालेले ५, कांग्रेसले ३, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ क्षेत्र जितेका थिए । यस्तै समानुपातिक तर्फ नेपाली कांग्रेसले १ लाख १५ हजार ३१९, एमालेले १ लाख १३ हजार ५८४, संघीय समाजवादी फोरमले ३७ हजार २९७, राजपाले २० हजार ८८३ र नेकपा माओवादी केन्द्रले १८ हजार ४९४ मत पाए ।

रुपन्देही–१
२०७४ सालमा यँहाबाट नेकपा एमालेका सचिब तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गराए । २०७० सालको निर्वाचनमा भने अब्दुल रज्जाकले तीनै विश्वकर्मालाई पराजित गरेका थिए ।

माओवादी केन्द्रको समेत सहयोगमा उम्मेद्वार बनेका विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांगेसका रज्जाकले २६ हजार ८८५ मत पाउँदा संघीय समाजवादी फोरमका विद्या प्रसाद यादवले १२ हजार ७६४ मत पाएका थिए । यस पटक नेपाली कांगेसबाट रज्जाक नै प्रतिस्पर्धामा होमिने तयारीमा छन् । यता एमालेबाट पनि विश्वकर्मा नै प्रतिस्पार्धा गर्ने पक्का पक्की जस्तै छ । गत निर्वाचनमा प्रदेशसभातर्फ एमालेका कृष्णप्रसाद न्यौपाने र माओवादी केन्द्रका दधिराम न्यौपाने निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ पर्छ ।

रुपन्देही–२
जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये रुपन्देही २ लाई विशेष चासोका साथ हेर्ने गरिएको छ । एमालेका उपाध्यक्ष विष्णु एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । पौडेलले २०६४, ०७० र ०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् ।

२०७४ सालमा बामगठबन्धनका तर्फबाट उम्मेद्वार बनेका पौडेलले ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका गिरीले २१ हजार ९४६ मत ल्याए भने जनमुक्तिका रुकबहादुर पुनले ३ हजार ५६८ मत पाए । यस पटक पनि यहाँबाट एमालेको तर्फबाट पौडेल उम्मेद्वार बन्ने लगभग पक्का पक्की जस्तै छ । पौडेललाई विगत भन्दा केही चूनौति हुने देखिएको छ ।

पौडेलको निर्वाचनमा पर्ने बुटवल उमपहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । स्थानीय तहको निर्वाचनमा पराजित भए पनि विष्णु पौडेललाई कुनै जोखिम नरहेको जिल्ला अध्यक्ष तेजेन्द्र केसी बताउँछन् । ‘उहाँले रुपन्देही र रुपन्देही–२ को विकास निर्माणका लागि धेरै भूमिका खेल्नु भएको छ ।’ उनले भने ‘ यसकारणले गर्दा विष्णु पौडेल बुटवलसँग गहिरो सम्बन्ध छ । स्थानीय निर्वाचनमा एमाले पराजित भए पनि विष्णु पौडेलले सानदार रुपमा जित्नु हुन्छ । यसमा दुई मत नै छैन् ।’

नेपाली कांग्रेसबाट डा.चन्द्र भण्डारीको चर्चा रहेको थियो । तर, नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सचिब छाँया पोखरेलले भने चन्द्र भण्डारी बुटवल आएर निर्वाचन लड्ने कुनै सम्भावना नरहेको बताउँछन् । ‘चन्द्र भण्डारी गुल्मीबाटै निर्वाचन लड्नु हुन्छ । बुटवल आएर उहाँ निर्वाचन लड्ने कुनै सम्भावना छैन्।’–उनले भने । एकीकृत समाजवादी रुपन्देही इन्जार्च राजु गुरुङले गठबन्धन भएमा गठबन्धनबाट आफूले टिकट पाउने दाबी गर्छन् ।‘म यहाँबाट निर्वाचन लड्छु भनेर धेरै पहिलाबाट नै भन्दै आएको छु । म त्यही अनुसार तयारी पनि गरिरहेको छु ।’ उनले भने ‘अहिलेको गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म नै कायम रहन्छ । गठबन्धनले मलाई टिकट दिए म जित्छु ।’

गत निर्वाचनमा प्रदेशसभातर्फ एमालेका भोजप्रसाद श्रेष्ठ र लिला गिरीले जितेका थिए । यस क्षेत्रमा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नगरपालिकाको १, २, ३, ४, ५ र ६ पर्छ ।

रुपन्देही–३
रुपन्देही ३ लाई पनि विषेश चासोका रुपमा हेरिएको छ । गृहमन्त्री बालकृष्ण खाँण र एमालेका धनश्याम भुसालको निर्वाचन क्षेत्र हो । २०६४ र ०७० मा निर्वाचन जितेका खाँण २०७४ सालको निर्वाचनमा खाँण पराजित हुने डरले समानुपातिकामा बसे ।

खाँण रुपन्देही ३ असुरक्षीत देखेर रुपन्देही १ बाट निर्वाचन लड्ने तयारी चर्चा थियो । तर, स्थानीय तहको नतिजाबाट उत्साहित खाँण अहिले भने यहीबाट नै निर्वाचन लड्ने तयारीमा छन् । खाँणको निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिका सबैमा यस पटक नेपाली कांग्रेसले जितेको छ । तिलोत्तमा नगरपालिकामा त खाँण सहदोर भाईले नै जितेका छन् ।

२०७० सालमा एमालेका भुसाललाई खाँणलाई ८० मतान्तरले पराजित गराए । २०७४ सालको निर्वाचनमा भने कांग्रेसको समर्थन रहेका राप्रपाका दिपक बोहोरालाई हराएर भुसाल निर्वाचित भए । भुसालले ३२ हजार ८६६ मत पाउँदा बोहोराले २७ हजार ४२२ मत ल्याउँदा संघीय समाजवादी फोरमका महेन्द्र यादवले १२ हजार ५३६ मत पाएका थिए । एमालेबाट भने धनश्याम भुसालसँगै तिलोत्तमा नगरपालिका निर्वतमान मेयर बासुदेव घिमिरेको चर्चा छ । राप्रपाका दिपक बोहोरा ३ वा १ मध्ये कुनैबाट उठ्ने तयारीमा छन् ।

प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरका सन्तोष पाण्डेय र एमालेका तुल्सीप्रसाद यादवले जितेका थिए । यस निर्वाचन क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ १९, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ पर्छन् ।

रुपन्देही–४
रुपन्देही क्षेत्र नम्बर ४ मा मधेशीको बाहुल्यता रहेको क्षेत्र हो । २०७४ सालमा नेपाली कांग्रेसका प्रमोद यादवले निर्वाचन जिते । उनले ३१ हजार ७१८ मत ल्याउँदा राष्ट्रिय जनता पार्टीका सवेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत पाएका थिए ।

यस्तै नेकपा एमालेका ओमप्रकाश यादवले ४ हजार ७९ मत ल्याए । नेपाली कांग्रेसले यस पटक पनि यादवलाई नै अगाडी सार्ने सम्भावना रहेको छ । राजपाको तर्फबाट शुक्ला नै दोहोरिएर उम्मेद्वार बन्ने सम्भावना रहेको छ । प्रदेशसभामा कांग्रेसका अष्टभुजा पाठक र वसी उद्दीन खाँ जितेका थिए । क्षेत्र नम्बर ४ मा ३ वटा गाउँपालिका, एक नगरपालिका, २ गाउँपालिकाका केही वडालाई समावेश गरिएको छ ।

यसमा मर्चवार क्षेत्रको ३ वटा कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकालाई समावेश गरिएको छ । साथै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २, १२ १३, मायादेवी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, सियारी गाउँपालिकाको वडा नम्बर ४ र ५ पर्छन् ।

रुपन्देही–५
२०७४ सालमा यहाँबाट नेपाली कांग्रेसका भरत कुमार शाहले जितेका थिए । शाहले ३३ हजार ८८ मत ल्याएर निर्वाचित भएका थिए । बामगठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका डिल्लाराम आचार्यले २० हजार ४३८ मत ल्याएका थिए ।

साथै संघीय समाजवादी फोरमका मुहम्मद वकील मुसलमानले १४ हजार १२१ मत पाए । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत रहेका शाह ३ पटक निर्वाचित भएका भइसेका छन् । शाहले २०५६, २०७० र २०७४ सालमा निर्वाचन जितेका थिए । २०६४ सालमा भने शाहलाई एमालेका स्व. नेता रामनाथ ढकालले पराजित गरे भने २०७० सालको निर्वाचनमा ढकाललाई शाहले पराजित गरे । आग्रामी निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसबाट शाह नै उम्मेद्वारका बलियो दाबेदार हुन् ।

यता एमालेबाट भने राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल देवकोटा बन्ने चर्चा छ । प्रदेशसभाको निर्वाचनमा एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फखरुद्दीन खानले जितेका थिए । यस क्षेत्रमा कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाको ५, ६, ७, ८, ९, १०, ११, लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, मायादेवी गाउँपालिकाको वडा नम्बर एक पर्छ ।