ताजा अपडेट »

तिलोत्तमामा बजेटको किचलो : गणपुर संख्या नपुगेको भन्दै बैठक स्थगित, एमालेको नाराबाजी (भिडियाेसहित)

आइतबार, ०१ साउन २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपुर संख्या नपुगेको भन्दै बैठक स्थगित गरेपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नाराबाजी गरेका छन् ।

बैठकमा उपस्थित सदस्यहरुको संख्या पुग्दा पनि नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले बैठक स्थगित गरेको एमालेको आरोप छ । बैठक सुरुहुनुभन्दा अघि नै आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएको र बैठक सुरु भएलगत्तै हाजिर गर्न माग्दा प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले हाजिर गर्न नदिएर उपस्थित संख्या नपुगेको भनि बैठक स्थगित गरेको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

‘हामी बैठक अघि नै उपस्थित थियौं, निर्धारित समय दिउसो १ बजे बैठकका लागि नगर प्रमुख मञ्चमा जानुभयो, त्यसपछि हाम्रा साथीहरुले हाजिर गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतसँग रजिष्टर माग्दा, अहिले मिल्दैन भन्दै दिनु भएन ।’–ग्लोबल आवाजसँग कुरा गर्दै सुरेन्द्र श्रीले भने, लगत्तै बैठकमा ४३ जनाको मात्रै उपस्थिती भएको भन्दै बैठक स्थगित भयो । त्यसपछि हामीले नियमापत्ति जनाएका हौं ।’ तिलोत्तमाको एक होटलमा आयोजना गरिएको नगर सभामा स्थगित भएसँगै प्रमुख प्रशासकीय अधिकृत समेत नेपाली काँग्रेसको तर्फबाट निर्वाचित प्रतिनिधिहरुको बैठकमा उपस्थित भएका छन् ।

बैठक स्थगित हुनुका साथै प्रमुख प्रशासकीय अधिकृतबाट अनैतिक कार्य भएको भन्दै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरेका थिए । उनीहरुले प्रमुख प्रशासनकीय अधिकृतको राजिनामा माग गरेका छन् । यसैगरी विरोध प्रदर्शनमा प्रहरी परिचालन गरिएको भन्दै त्यसको समेत विरोध गरेका छन् ।

यसअघि असार ३१ गते बोलाइएको बैठकमा पनि गणपुर संख्या नपुगेको भन्दै नगर प्रमुख खाँणले बैठक स्थगित गरेका थिए । उक्त दिन सूचना टास गरी आजका लागि बैठक बोलाइएको भएपनि एजेण्डामै प्रवेश नगरी बैठक स्थगित भएको छ । यस विषयमा प्रतिक्रियाका लागि नगर प्रमुख रामकृष्ण खाँणसँग सम्पर्क गरेपनि कुराकानी हुन सकेन ।