ताजा अपडेट »

सरकारी कृषि अनुदान : वास्तविकभन्दा झोले किसानलाई प्रोत्साहन

शनिबार, ३२ असार २०७९

गुल्मी । ‘यहाँ दुई थरी किसान छन्, एकथरी वास्तविक किसान र अर्कोथरी झोले किसानहरु रहेका छन् । वास्तविक किसान माटोसंग खेल्न रुचाउँछन् । झोले किसानहरु सरकारी अनुदानका लागि कृषिसंग सम्वन्धित कार्यालय मात्रै धाउँछन् ’– यो भनाई हो गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनी चिदीखोलाका अगुवा कृषक सोभ बहादुर घर्तिको।

उनी गत ११ वर्षदेखि व्यवसायी कृषकको अनुभव संगालेका ब्यक्ति हुन् । उनले कृषि र पशुपालनबाटै बार्षिक सरदर २० लाखसम्मको कारोवार गर्छन । तर सरकारी अनुदान प्रति उनको त्यस्तो नकरात्मक टिप्पणी छ ।

त्यो टिप्पणी उनले एक्लै दोक्लै कुनै मिडियाकर्मीसंग गरेका होइनन्, कृषि ज्ञान केन्द्र गुल्मीले आयोजना गरेको बृहत कार्यक्रममा सहभागि अधिकांश पालिका प्रमुखसहितले सुन्ने गरि गरेका हुन् । उनको सुझाव थियो कृषि अनुदानको कार्यक्रम झोले किसानका लागि होइन।
उनले भने ‘उत्पादनमा आधारित वास्तविक किशसनलाई दिने गरौं । यसरी वितरण हुने सरकारी अनुदान झोले किशानहरुका लागि पुजाको प्रसाद जस्तै बन्यो । अब यसरी अनुदानलाई बाँढ्ने प्रसाद जस्तै नबनाऔं ।’

उनले राजनैतिक पहुँचका आधारमा कृषि अनुदान वितरण हुने गरेकोतर्फ पनि ईङ्गित गर्दै भने–‘ हुन त तपाईहरुलाई माथीबाट फोन घुम्छ होल , तपाईहरुले स्वतन्त्र रुपमा अनुदानको कार्यक्रम वितरण गर्न सक्नु हुन्न त्यो म बुझ्छु तर…? ’

उनले कृषिमा करोडौं लगानी गर्न चाहेको तर, आफू त्यसमा सक्षम नभएको भन्दै सम्वद्ध सरकारी निकाय संग त्यसको जोह गरि दिन आग्राह समेत गरे । उनि उत्कृष्ट कृषकका रुपमा सम्मानित कृषक हुन् ।

उनि पश्चिम गुल्मीमा सबै भन्दा ठुलो परिणममा कृषि उत्पादन र पशुपालन गर्ने अगुवा र प्रेरणादायिक युवा कृषक भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी बताउँछन् । उनि भन्छन्‘ त्यस्तो प्रेरणादायि कृषकहरुले यस अघि देखि पाल्दै आईरहेका असन्तुष्टि मेटाउने र थप प्रोत्साहित गर्दै अगाडि बढ्ने कोशिसमा हामी छौं।’

गत एक दशक अघिदेखि मौरीपालनमा जिल्ला कै अगुवा कृषक र पटक पटक सम्मानित समेत भएका कृषक मुसिकोट नगरपालिका–८ मालारानीका चुमा घर्ति मगरको गुनासो पनि सरकारी अनुदान वितरण मै रहेको छ ।

उनले सरकारी अनुदान वितरण गर्ने तर अनुगमन र मुल्याङकन झारा टराई मै सिमिति भएका कारण वास्तविक किशानको सट्टा त्यस्तै झोले किशानहरुले अनुदान कुम्लाउने गरेको खुलासा गरे । उनले भने–‘अनुदान वितरण गर्ने तर, अनुगमन र मुल्याङकन गर्न जाँदा सम्वन्धितलाई थाह दिएर जाने गरिन्छ । त्यसरी त उसले एक छिनलाई देखाउन अरुका बाख्रा ल्याएर पनि बाँधेको हुन्छ । त्यस्तै कृषि उत्पादनको मुल्याङन गर्न पनि फल्ने बेलामा मात्रै जाऔं र उत्पादनका आधारमा अनुदान दिउँ तर कागजमा लेखेको भरमा होइन ।’

छत्रकोट गाउँपालिका–४ का अगुवा किशान चिरञ्जिवी पन्त बजारिकरणको अभावमा आफूहरुको मेहनत र पसिनाको कमाई विचौलियाले खाईदिने गरेको गुनासो गर्दै अनुदानको साटो उचित बजार , प्राविधिक ज्ञान र माटो परिक्षणको व्यवस्था गरि दिन सरोकारवाला सबै संग्र आग्राह गर्दछन्।

सोही पालिका–१ हुँगाका कृषक त्यस गाउँपालिकाले किशान पेन्सन सुरु गरे पनि व्यवसायिक कृषकहरु त्यसबाट सन्तुष्ट हुन नसकेको गुनासो राखे । उनले भने–‘ गत बर्ष मैले ३६ लाखको अकबरी खुर्शानी बेचें अहिले जम्मा ८ लाखमा सिमिति छु, उचित बजारिकरणको लागि पहल होस भन्ने म माग गर्दछु ।’

रेसुङ्गा नगरपालिका–१० सिमिचिौरका अगुवा किसान विनोद कुँवरले पनि बजारिकरणको अभावमा किशानहरुले दुख गर्ने तर, विचौलियाहरुले पक्की घर ठडाउने र ट्रकहरु किन्ने अवस्थामा पुगेको गुनासो गरे । जिल्लाका दुई पालिका रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा करोडौं खर्चेर खरिद गरिएको चिस्यान केन्द्रका प्रविधीहरुले आफुहरुलाई काम नदिएकोले छिट्टै सञ्चालनमा ल्याउन समेत अगुवा किसानहरुको माग थियो ।