ताजा अपडेट »

रुपन्देही खेलकूदमा पदस्थापन, सबै खेल र खेलाडीको विकास गर्ने अध्यक्ष क्षेत्रीको प्रतिवद्धता

शनिबार, ३२ असार २०७९

बुटवल । नवनियुक्त रुपन्देही जिल्ला खेलकूद विकास समितिका पदाधिकारीले सपथसहित पदस्थापन गरेका छन्। उनीहरुले शनिबार एक समारोहकाबीच शपथ,पदस्थापनसहित प्रतिवद्धता समेत गरेका छन् ।

गत १८ गते लुम्बिनी प्रदेश खेलकूद परिषदद्वारा अध्यक्षमा नियुक्त भएका भुपेन्द्रबहादुर क्षेत्री (हरि), उपाध्यक्ष जयबहादुर सुनार,कोषाध्यक्ष परागदास गोर्खाली र सदस्यहरु पशुपति उपाध्याय, रामबहादुर थापा,अर्जुन क्षेत्री,रमेश थापा,राधिका चौधरी र रिता पाण्डे खत्रीले संयुक्त रुपमा शपथ लिएका हुन् ।

उनीहरुलाई बुटवलस्थित जिल्ला खेलकूद विकास समितिको कार्यालय प्रांगणमा प्रदेश खेलकूद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले शपथ ग्रहण गराएका थिए ।

सो अवसरमा नवनियुक्त अध्यक्ष हरि क्षेत्रीले आफू सबै खेल सम्बन्धी जानकार भएको बताउँदै आगामी दिनमा सबै खेल र सबै खेलाडीलाई समेटेर अगाडि बढ्ने र विकास गर्ने प्रतिवद्धता जनाए । उनले छिट्टै खेल क्षेत्रमा परिवर्तन गरेर देखाउने बताए ।

अध्यक्ष क्षेत्रीले विभिन्न खेलकूदको विकासका लागि छिटो योजना ल्याउन सरोकारवालालाई आग्रह गर्दै सोही योजनाका आधारमा आफूले सम्बन्धित मन्त्रालयमा बजेटका लागि पहल गर्ने समेत बताए ।

कार्यक्रममा प्रदेश खेलकूद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद क्षेत्रलाई फराकिलो दृष्टिले हेर्नुपर्ने आग्रह गर्दै यसले पर्यटन प्रवद्र्धन, राष्ट्रिय एकता, अनुशासन, मेलमिलाप र सद्भाव बढाउने बताए । साथै उनले प्रदेशको जिम्मेवारीसँगै जिल्लालाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।