ताजा अपडेट »

नवलपरासीमा राहत बाढ्ने विषयमा एमाले काँग्रेस बीच कुटाकुट : १८ जना घाइते, ६ जनाको बुटवलमा उपचार

शनिबार, ३२ असार २०७९

बुटवल । नवलपरासीका जनप्रतिनिधिहरुले विपन्नहरुले पाउने राहतमा पनि दलीय आधारमा भागबण्डा गरेपछिको झडप हुँदा १८ जना घाइते भएका छन् । राहत वितरण कार्यमा भएको भागबण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिकाको वडा नं. ५ मा कुटाकुटसमेत भएको छ । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।

घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कडेलले जानकारी दिए । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट प्रभावित अतिविपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नं. ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं. २ को) कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।