ताजा अपडेट »

नेपालले स्कटल्यान्डमाथि दर्ता गर्‍यो ऐतिहासिक जित

विहीबार, ३० असार २०७९

काठमाडौँ । नेपालका ओपनर आसिफ शेख र तीव्र गतिका बलरको उच्च प्रदर्शनमा नेपालले स्कटल्यान्डमाथि पहिलो ऐतिहासिक जित हात पारेको छ । आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि-२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका थिए ।

रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे । रोहितले हम्जा ताहिरलाई विजयी चौका सहित खेल सकाएका थिए । दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए । आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । कुशल गेभिन मेनको बलमा विकेटकिपर म्याथ्यु क्रिसबाट क्याच आउट भए ।

देव खनाल १४ औं ओभरको तेस्रो बलमा देव खनाल एड्रियन नीलको बलमा एज लागेर फस्ट स्लिपमा ४ रनमा क्याच आउट भए । स्कटल्यान्डका लागि संकटमा अर्धशतक हानेका गेभिन मेनले सर्वाधिक तीन विकेट लिए ।त्यसअघि टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा सफ्यान शारिफले १६ रन जोडे । त्यस्तै, कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।