ताजा अपडेट »

बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग

शुक्रबार, १७ असार २०७९

बुटवल । विद्युतका नाङ्गा (खुला) र गुणस्तरहीन तारबाट मानव बस्ती र वन्यजन्तुसमेत जोखिममा परेका तथा भवितब्यका कैयन दुर्घटना हुँदै आएका छन् । विश्वका धेरैजसो मुलुकमा विद्युतीय सुरक्षालाई प्राथमिकतामा राखेर प्रशारण लाइन र संरचना निर्माण भएपनि तर, हामीकहाँ भने बल्ल आवाज उठ्ने र कतैकतै काम सुरु भएको अवस्था छ ।

‘श्रमतीसंगको झगडाले सनक चढेपछि विद्युत प्रशारण लाइनमा चढेर तारैतार हिंड्दा प्राधिकरणलाई हालै करोडौको नोक्सानी भयो । विद्युतका खुला र कमसल तारले सिङ्गो बस्ती नै जोखिममा रहेका, कतैकतै तार झरेर जमिनमै करेन्ट प्रवाह हुँदा मानवीय क्षति भएका, छतमा कपडा सुकाउँदा विद्युतका खुला तारमा कपडा छोइँदा करेन्ट लागेर मानवीय क्षति भएका, वन्यजन्तु वारपार गर्दा तारमा छोइँदा जनावर मारिएका’ दुखद घटनाका समाचार मिडियामा प्राथिमकताका साथ आउने गरेका छन् ।

बस्तीमा तानिएका र प्रशारण लाइनमा तानिएका विद्युतका खुला तारलाई सुरक्षित बनाउने उपाय अपनाउन थालिएको छ । विद्युत प्राधिकरणले नयाँ प्रविधि जडित उद्योगसंगको सहकार्यमा यस्ता उपाय अपनाउन थालेको हो । विद्युतीय सुरक्षा उपाय अपनाउँदै जर्मन प्रविधिबाट एरीया बण्डल (एबी) केबल नामको सुरक्षित तारको उत्पादन बुटवलमै सुरु भएको छ ।

मुलुककै अग्रणी तथा ठूलो उद्योगका रुपमा बुटवल औद्योगिक क्षेत्रमा रहेको लुम्बिनी विद्युत उद्योग प्रालिले जर्मन प्रविधिमा आधारित ‘एबी’ केबलको व्यवसायिक उत्पादन गरिरहेको छ । विद्युतको तारलाई बाहिरबाट सुरक्षित तरिकाले कुचालकले कभर गरिएको छ । यसो भएपछि तार छोइँदा वा दुर्घटना हुँदा तारबाट बाहिर करेन्ट प्रवाह हुन पाउँदैन । उक्त उद्योगले हालै नयाँ संरचनाको विकास गरी सुरक्षित तारको व्यवसायिक उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ । सुरक्षित तथा गुणस्तरी तारको उत्पादनका लागि जर्मन प्रविधिका नयाँ र आधुनिक प्लान्ट जडान गरेको छ । जुन उद्योगमा वर्षेनी झण्डै ७२ हजार किलोमिटरको सुरक्षित र गुणस्तरीय तार उत्पादन गर्ने क्षमताका अत्याधुनिक जर्मन प्रविधिका प्लान्ट जडान भएका छन् ।

जर्मन प्रविधिको प्लान्टबाट विद्युत ग्रीडबाट बस्तीमा वितरण हुने, सहरी क्षेत्रमा रहेका र ठूला भौतिक संरचना निर्माणका लागि प्रयोग हुने विद्युतका सबै किसिमका सुरक्षित र गुणस्तरीय तारको उत्पादन गर्ने मुलुककै पहिलो र ठूलो उद्योग हो । वर्षेनी हजारौं किलोमिटरको एबी केबल तार उत्पादन भइरहेको छ । नेपालमा हाल प्रयोग हुने विद्युतको तारको माग भन्दा पनि धेरैलाई थेग्ने र निर्यात समेत गर्न सकिने गरी गुणस्तरीय एबी केबल तारको उत्पादन गर्दै आएको उद्योगका अध्यक्ष रोहित गुप्ताको भनाइ छ । केबुलको स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने र नेपालमा भएको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र निर्यात्को समेत लक्ष्यका साथ गुणस्तरीय सामग्रीको उत्पादन गरिएको अध्यक्ष गुप्ताले बताए ।

सन् १९७७ मा स्थापित बुटवल औद्योगिक क्षेत्रमा रहेको नेपालको पहिलो र ठूलो अल्मोनियम कन्डक्टर स्टिल रिइनफोर्स (एसीएसआर) कन्डक्टर निर्माण कम्पनीका रुपमा लुम्विनी विद्युत उद्योगलाई लिइन्छ । दुई विगाहा क्षेत्रफलमा करिब ४० करोड लगानीबाट सुरु भएको उद्योगमा अहिले करिब २०० करोडसम्म लगानी पुगेको छ भने नयाँ–नयाँ प्लान्टको समेत निर्माण भइरहेको छ । यस उद्योगले भारत, यूएई र अस्ट्रियाबाट आवश्यक कच्चा पदार्थ ल्याइरहेको छ ।

युएईबाट तामा, भारतबाट अल्मुनियम र अस्ट्रियाबाट इन्सुलेशन कभरको आयात गर्दै आएको उद्योगका उत्पादन प्रमुख शिव शर्माले जानकारी दिए । विद्युत प्राधिकरणसंगको सहकार्यमा अहिले ४८०० किमिको प्रशारण लाइनमा यहीँ नयाँ प्रविधिको तारको प्रयोग भइरहेको उल्लेख गर्दै उत्पादन प्रमुख शर्माले विद्युत तारको सुरक्षा र गुणस्तरलाई अहिले पहिलो प्राथमिकतकामा राखेर काम भइरहेको बताए । विद्युतको ठूलो मानिएको ४०० केभीएको प्रशारण लाइनमा पनि यहीँ प्रविधिको तारको प्रयोग भइरहेको बताइएको छ ।

जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरु जडान गरेर उत्पादन गर्न थालेपछि एबी केबुलको माग समेत बढेको र बस्ती सुरक्षित पार्न यसलाई अपनाउन जरुरी रहेको उद्योगको दाबी छ । लुम्बिनी विद्युत उद्योग प्रालिले भारतीय प्रतिष्ठित कम्पनी गुप्ता पावरसंगको सहकार्यमा १२५०० किमीको प्रशारण लाइनमा समेत यहीँ तारको प्रयोग गर्नेगरी नयाँ प्रक्रिया अगाडि बढाएको उत्पादन प्रमुख शर्माले बताए ।

विद्युत सम्बन्धी सबैजसो कामका प्रयोग हुने गुणस्तरीय तारको उत्पादनकै कारण बुटवलमा रहेको उद्योगको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलिएको र धेरैतिरबाट चासो लिनेको संख्या बढेको उद्योगका मानव संसाधन विभाग प्रमुख (एचआर हेड) भुवन गिरीको भनाइ छ । यस उद्योगमा दक्ष कामदारसहित करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने नयाँ विस्तार भइरहेको ठाउँका लागि उत्तिकै संख्यामा नयाँ कामदारको खाँचो पर्ने एचआर विभाग प्रमुख गिरीले बताए ।

आन्तरिक प्रसारण प्रणाली सुधार र औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि समेत सहयोगी हुने तारको उत्पादन भइरहेको र संगसंगै माग पनि बढिरहेको गिरीको भनाइ छ । उद्योगले नाफा कमाउने मात्रै नभई मानवीय र सामाजिक सेवा भावले समेत काम गर्दै आएको बताउँदै पछिल्लो उत्पादन त्यसैको एउटा दृष्टान्त रहेको गिरीले दाबी गरे । उद्योगले कोरोना कहरमा विभिन्न ठाउँमा सञ्चालित कोरोना विशेष अस्पतालमा निःशुल्क अक्सिजन सिलिण्डर समेत हस्तान्तरण गरेको थियो । – मेचीकाली दैनिक