बैतडी । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो। यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।
किराले मकैको बोट सखाप पार्ने गरेको छ। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ। दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ ।
उनले भने, “जिल्लाका विभिन्न स्थानबाट किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी दिने गरेका छन्। हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।” मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ। तीन वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ ।
दोगडाकेदार गाउँपालिका–२ का अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको स्थानीय दीपिका कार्कीले बताइन्। मकैबाली लगाएदेखि नै फौजी किराले क्षति पु¥याउन थालेको छ। “किराले मकै बाली नष्ट गर्न थालेपछि समस्यामा छौँ। किरा मार्न विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ”, उनले भनिन्।
दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख रामबहादुर विष्टले किराको प्रकोपबारे जानकारी आएको र वडास्तरबाटै कृषि प्राविधिक पठाउन पहल भइरहेको बताए। मकै बालीमा किराको प्रकोप देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत चन्दले जानकारी दिए ।
केन्द्रले इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ। सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने उनको भनाइ छ। बैतडीमा १३ हजार हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ । रासस
प्रतिक्रिया