ताजा अपडेट »

संविधान संशोधन, कार्यान्वयनको लागि गठबन्धन आवश्यक: गृहमन्त्री खाँण

शनिबार, ०४ असार २०७९


भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन । भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै खाँणले संविधानको रक्षा गर्न, संविधानमा रहेका कमि-कमजोरीलाई परिमार्जन गर्न एवम संविधानको रक्षा गर्नको लागि पनि गठबन्धन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को आयोजनामा भैरहवामा सम्पन्न बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले अहिले यी काम गर्न नेपाली कांग्रेससंग एकल बहुमत नरहेको कारण पनि गठबन्धन आवश्यक रहेको औल्याए । पार्टीकै कतिपय नेताहरुले फरक सिद्धान्त रहेको पार्टीको गठबन्धनको बिरोध गरे पनि अहिले बिशिष्ट परिस्थिति भएको कारण गठबन्धन नतोडिने उनले बताए ।

कार्यक्रममा बोल्दै खाँणले स्थानिय तहको निर्वाचन, स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न भएको बताउदै निर्वाचन आयोगलाई धन्यवाद दिएका छन । “छिटफुट घटनाहरु बाहेक निर्वाचन स्वतन्त्र रुपमा सम्पन्न भएको छ ।” उनले भने “नेपालका मूख्य स्थानिय तहहरुमा स्वतन्त्र ब्यक्ति बिजयी हुनु नै स्वतन्त्र निर्वाचनको उदाहरण हो । निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको भए मूख्य शहरहरुमा स्वतन्त्र उम्मेदवार कसरी बिजयी हुन्थे ?”

खाँणले स्थानिय तहले नेपाली कांग्रेसको पक्षमा बहुमत दिएकोले अब जनता र देशको पक्षमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । स्थानिय तह विजयी भयो भन्दैमा हौसिनु भन्दा पनि जनताको मागहरुको पक्षमा गम्भिर भएर काम गर्न उनले आग्रह गरे । रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति शुसिल गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री अब्दुल रज्जाक, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा क्षेत्र नम्बर ३ अन्र्तगतका ३ जना नगर प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, २ जना गाउँपालिका उपाध्यक्ष, १८ जना वडा अध्यक्ष सहित १ सय ८ जना जनप्रतिनिधिलाई सम्मान गरिएको क्षेत्रिय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।