रुकुम । रुकुम(पूर्व) मा चौथो गुरिल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात् ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’को रुपमा विकास गर्ने उद्देश्यका साथ पटक–पटक म्याराथन प्रतियोगिता आयोजना गरिदै आइएको छ ।
यसै क्रममा रुकुम(पूर्व) मा शुक्रबार महतदेखि रोल्पासम्मको १० किलोमिटर र ६२ किलोमिटरमा म्याराथन प्रतियोगिता सम्पन्न भएको भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिल रोकामगरले जानकारी दिए । युद्ध पर्यटनलाई विकास र विस्तार गर्न र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भुमे गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा १० किलोमिटरमा ३० जना र ६१ किलोमिटरमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए ।
युवा विकास केन्द्रका संयोजक रोकाकाअनुसार १० किलोमिटरको प्रतियोगितातर्फ पुरुषमा रुकुम(पूर्व) का जिवन थापा मगर प्रथम भएका छन्। उनले एक घण्टा दुई मिनेटमा निर्धारित दुरी पार गरेका छन्। रुकुम(पश्चिम) का केशव बुढामगरले एक घण्टा ४ मिनेटमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ भने रुकुम(पूर्व) कै सन्दिप बुढाले एक घण्टा ६ मिनेटमा निर्धारीत दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
महिलातर्फको १० किलोमिटर प्रतियोगितामा १ घण्टा ४० मिनेटमा दुरी पार गर्दै रुकुम(पूर्व) की सुनकुमारी सुनार प्रथम, १ घण्टा ५० मिनेटमा दुरी पार गर्दै रुकुम(पूर्व) कै प्रीया पुनमगर दोस्रो र २ घण्टा ९ मिनेटमा दुरी पार गर्दै यसै जिल्लाकी विनिता शेर्पाली तृतीय हुनुभएको छ ।
उनीहरु सबैलाई क्रमशः दश शजार, ६ हजार र ३ हजार र २ हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरिएको युवा विकास केन्द्रका संयोजक रोकामगरले बताए ।
यस्तै ६२ किलोमिटर दुरीको म्याराथन प्रतियोगितातर्फ ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै कर्णाली स्पोर्टस जुम्लाका दलबहादुर कुवर प्रथम हुँदै ५० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । निर्धारीत दुरी ६ घण्टा २१ मिनेट ६ सेकेन्डमा पार गर्दै रुकुम(पूर्व) का हिमाल बुढामगर दोस्रो हुँदा ६ घण्टा ३५ मिनेट ५० सकेण्डमा दुरी पार गर्दै रुकुम(पश्चिम) का दुर्गा बुढा तेस्रो भएका छन् ।
यस्तै ६ घण्टा ३५ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङ राई चौथो र ६ घण्टा ३६ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै रुकुम(पूर्व) का करमान बुढा पाँचौ भएका छन् । क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई ३० हजार, १५ हजार, ८ हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
६२ किलोमिटरको महिलातर्फको प्रतियोगितामा ६ घण्टा ५६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै कर्णाली स्पोर्टस क्लब जुम्लाका मन्जु रावत प्रथम भएका छन्। उनले ५० हजार हात पारेका छन् । ८ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुकी अनिता राईले दोस्रो हुँदै ३० हजार हात पार्दा ८ घण्टा २५ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै रोल्पाकी आस्मती विक तेस्रो भई १५ हजार हात पारेकी छन् । ८ घण्टा ५८ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै चौथो भई भोजपुरका अनिता राईले ८ हजार र ९ घण्टा ५८ मिनेट २१ सेकेन्डमा दुरी पुरा गरि पाँचौ हुँदै पाँच हजार हात पारेकी छन्।
यस्तै दशौ स्थानसम्मकालाई पनि नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । १० किलोटिरको रुट महत हुँदै लाबाङ–र्धाशालाबाट पुनः महत थियो । ६२ किलोमिटर म्यारथनको रुट महतबाट सुरु भई लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठुलो लेक हुँदै महत रहेको युवा विकास केन्द्रका संयोजक रोकाले बताए। प्रतियोगितामा ११ जिल्लाबाट धावकहरु सहभागी भएका थिए ।
प्रतिक्रिया