बुटवल । लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्री तथा आर्थिक मामिला राज्यमन्त्री सुस्मा यादवले पत्रकारलाई ढाँटेका छन् । लुम्बिनी प्रदेश सरकारले बुधबार ल्याएको आगामी वर्षको बजेट प्रदेश योजना आयोग र आर्थिक मामिला राज्यमन्त्रीकै भावना विपरीत आएपछि उनीहरुले पत्रकारलाई ढाँटे वा अर्थमन्त्रीले उनीहरुलाई झुक्काए भन्ने विषयमा प्रश्न उठेको छ ।
बजेटका विषयमा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री र आर्थिक मामिला राज्यमन्त्री सुस्मा यादवले पत्रकारहरुलाई यसअघि दिएको सूचना ठहरिएको छ । उनीहरु दुवै जनाले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिनेगरी चालु आर्थिक वर्षकोभन्दा करिव ५ अर्ब कम बजेट ल्याउने तयारी गरेको जानकारी दिएका थिए । चालु आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको सरकारले बजेट खर्च र राजश्व संकलन लक्ष्य अनुरुप नभएपछि आगामी वर्षका लागि बजेट घटाउने तयारी गरेको उनीहरुको भनाइ थियोे । तर बजेटमा त्यसको उल्टो भयो । बिहीबार आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले गतवर्षभन्दा दुई अर्ब बढीको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भारी अंकले घट्ने अवस्थाको संकेत प्रदेश योजना आयोग र आर्थिक मामिला मन्त्रालयकै जिम्मेवार व्यक्तिले गरेपनि अर्थमन्त्रीले उनीहरुलाई पनि भ्रममा पारेको प्रष्ट हुन्छ ।
कोरोना महामारीका कारण अपेक्षाकृत राजश्व संकलन हुन नसकेको विभागीय मन्त्रालयले जानकारी यसअघि नै जानकारी दिएको छ । केही दिनअघि प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले रिपोटर्स क्लबको कार्यक्रममा पटक-पटक ३७ अर्बभन्दा बढी बजेट नआउने पत्रकारलाई बताएका थिए । क्षेत्रीले खर्च नहुने बजेट धेरै ल्याउनुभन्दा खर्च हुने गरी बजेट ल्याउन लागिएको बताएका थिए । ‘खर्च नहुने बजेट ल्याउनु उपर्युक्त छैन, सानो आकारको काम गर्न सकिने कार्यक्रममा बजेट बिनियोजन गर्नुपर्छ, त्यसै अनुरुप बजेट आउँछ ।’ उनले भनेका थिए तर बुधबार बजेट आउँदा उनले भनेको भन्दा फरक आएको छ । त्यसको केही दिनपछि आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुष्मा यादवले पत्रकारहरुसँग आगामी आर्थिक वर्षका लागि ३६ अर्बको हाराहारीमा बजेट आउन लागेको बताएकी थिइन् ।
‘अहिले पुराना कार्यक्रममै धेरै बजेट बिनियोजन हुनेछ, विशेष नयाँ कार्यक्रम धेरैे छैनन्, कोरोना माहामारीका कारण राजश्व संकलन प्रयाप्त हुन सकेन, त्यो कारणले पनि बजेट घटेको हो‘– राज्यमन्त्री यादवले भनेकी थिइन् । चालु आर्थिक वर्षमा बिनियोजित बजेटमध्ये ३३ प्रतिशत चालु खर्च र ५५ प्रतिशत पुँजीगत खर्च थियो । १५ प्रतिशत बजेट स्थानीय तहमा समानीकरण अनुदानमा थियो । पुँजीगत बजेटको निकै कम हिस्सा मात्रै खर्च भएकाले बजेट धेरैले नबढ्ने अनुमान गरेका थिए । प्रदेशमा राजश्व संकलनमा निकै कमजोर छ भने चालु आर्थिक वर्षका जेठको १५ गतेसम्म ३७ दशमलव ८४ प्रतिशत मात्रै बजेट खर्च भएकाले बजेटको आकार नबढ्ने प्रमुख प्रतिपक्ष दलले पनि बताएको थियो ।
प्रमुख प्रतिपक्ष दलका उपनेता तथा यसअघि बजेट ल्याएका पूर्वमन्त्री वैजनाथ चौधरीले नीति तथा कार्यक्रम विपरीत बजेट आएको बताएका छन् । ‘प्रतिपक्ष भएर पनि हामीले नीति तथा कार्यक्रमको स्वागत गरेका थियौं तर बजेट ठिक उल्टो आयो, ठूला आयोजनाको रकम काटेर टुक्रे तथा पूरा नहुने योजनामा बजेट छरिएको छ, यो पूरै चुनावलक्षित बजेट आयो, कुनै पनि हालतमा कार्यान्वयन हुन सक्दैन, स्रोतबिनाको बजेट ल्याइएको छ’ उनले भने ।
प्रतिक्रिया