ताजा अपडेट »

नेपाली जनता कुनैपनि सैन्य गठबन्धनको पक्षमा छैनन् : एमाले महासचिव पोखरेल

बुधबार, ०१ असार २०७९

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपालको असंलग्न परराष्ट्र नीतिलाई असर पार्ने गरी अमेरिकी सेनासँग गर्न खोजिएको एसपीपी सम्झौताप्रति नेकपा एमालेको आपत्ति रहेको उनले बताए ।

प्रेस चौतारी नेपाल रुपन्देही शाखाले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पञ्चशीलको परराष्ट्रनीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य नहुने बताए । ‘असंग्नताको नीति विपरीत कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार गर्दैन’, उनले भने, प्रधानमन्त्री शेरबहादुर देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएकाले त्यसो भए मुलुकको अपमान हुनेछ ।

पञ्चशिलको बिकास नीतिलाई समेत असर पार्ने गरी कुनै एक देशको सैनिक संगठनसँग मुलुककै सार्वभौम अधिकार हनन् हुने गरी गरिने सम्झौताको एमालेले विरोध गर्ने उनले बताए । फरक प्रसङ्गमा महासचिव पोखरेलले गठबन्धन सरकारका कारण मुलुक चरम आर्थिक संकटमा पुगेकोप्रति चिन्ता व्यक्त गरे । मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताउँदै उनले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएको उल्लेख गरे ।

कांग्रेससँग मिलेका नेकपा माओवादी केन्द्र र नेकपा एसतर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग यही अवस्थामा सहकार्य हुन नसक्ने स्पष्ट पारे । उनले कांग्रेससँग मिलेका वामपन्थी नभएको टिप्पणी गरे । एमालेलाई सिध्याउने गरी गठबन्धन गर्दा पनि आफूहरूले जनमत राम्रो पाएको बताउँदै आगामी चुनावमा पनि एक्लै लड्न सक्ने महासचिव पोखरेले बताए । एमालेले स्वार्थ आधारित नभई राष्ट्र हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।

लुम्बिनी प्रदेश सरकारले जम्बो मन्त्री मण्डल बनाएर आफूहरुलाई असफलतातर्फ जाने पहिले नै संकेत गरेको उनले बताए । सुरुदेखि नै सरकारको असफलताको बाटो मन्त्रिमण्डल गठनले संकेत गरेको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेशलाई कमजोर बनाउने काम भएको उल्लेख गरे । विगतको सरकारले सत प्रतिशत पूँजिगत खर्च गरेर सफलताको उदाहरण पेश गर्दै आएकोमा वर्तमान सरकारले उक्त छविलाई बिगार्ने काम गरेको उनको आरोप छ ।