ताजा अपडेट »

बजेटका त्रुटी नसच्चाए सिंहदरबार घेर्ने उद्योगीको चेतावनी

बुधबार, ०१ असार २०७९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै उक्त विभेद नसच्याए तत्काल आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उद्योगीहरुले यस्तो चेतावनी दिएका हुन् । स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडा भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै स्वदेशी उत्पादकहरुले आफूहरु मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ ।नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको आरोप लगाए । नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाए ।

नेपाली उद्योगलाई पुर्ण रुपमा धराशयी बनाउने नीति सरकारले लिएको भन्दै देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुंदै विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्याएको उनले आरोप लगाए । आफुहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाइ छ ।‘आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ, उनले भने ।

उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । सेनेटरी प्याड उत्पादनमा पुर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ ।आर्थिक वर्ष ०७७/७८ सालमा नेपाल आफैले ३ अर्बको सेनेटरी प्याड उत्पादन गरेको सुनाए । यदि माग सुनुवाई नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्ने चेतावनी दिए ।

अध्यक्ष अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा कुरा भएको र उनीहरुले धैर्य गर्न आश्वासन दिएकोले आफुहरु रोकिएको बताए । उनले अब माग सम्बोधन नभए ठुलो आन्दोलन गर्ने चेतावनी दिए ।साखः स्टिलका सञ्चालक किरण साखःले पुरानो समस्या अझैपनि सरकारले सम्बोधन नगरेको भन्दै उनले दुःखेसो पोखे । अहिलेको बजेटको विषयमा साखःले २४-२५ वटा उद्योग बन्द गर्ने खालको बजेट ल्याएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘स्पोन्ज आइरनमा मात्र किन अन्त शुल्क बढाइयो ?’

उनले ४-५ वटा उद्योगको लागि मात्र सरकारले छुट दिएपछि धेरै उद्योग धराशयी भएको बताए । सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्तशुल्कको विरोध गर्दै सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने उनको दाबी छ ।‘नेपाली उद्योगबाटै बिलेट दिन्छांै, तपाईहरु खरिद गरेर विक्रि गर्नुस भन्छ सरकारले तर त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ’ उनले भने ‘कि त भारतको मुल्यमा दिनुप्रयो ।’


अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयारी मालमा अन्तशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले सुनाए । ‘तर सरकारले त्यो मान्न तयार भएन’ उनले भने, ‘भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने छ ।’उनले सरकारले पोस्न खोजेका ६ वटा उद्योगहरुको नामसमेत सार्वजनिक गरे । उनका अनुसार सरकारले अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपतिको लागि सरकारले अन्य उद्योगलाई मारमा पार्ने काम गरेको छ ।

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोस पोखे । उनले अब पनि माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।-बिजमाण्डु