ताजा अपडेट »

‘स्तरीय र आकर्षक पथ’ले वनवाटिकामा घुम्नेलाई सहज !

आइतबार, २९ जेठ २०७९

तिलोत्तमा । तिलोत्तमा–७ कि जमुना कंडेललाई अचेल वनवाटिका घुम्न निकै आनन्द हुन्छ । त्यहाँका मनमोहक दृश्य त छदैछन् बाटोभरी लगाइएको टायलले अवलोकनका लागि सहज भएको छ । हिलो र धुलोको महसुस गर्नुपर्दैन अचेल त्यहाँ । केही समय अघि वनवाटिकामा घुम्न जान मन लागेपनि त्यहाँभित्र भएका बाटा सम्झिँदा उनलाई त्यहाँ जानै जाँगर लाग्दैनथ्यो । हिजो–आज भने पैदलयात्री र सवारीसाधन भएकालाई पनि धेरै सहज भएको उनी बताउँछिन् ।

यस्तै तिलोत्तमा–१ मा बसोबास गर्ने आश्मा बन्जाडे पनि वनवाटिकाभित्र घुम्न मन पराउँछिन् । केही दिन अघि मात्रै पनि उनी बच्चाहरू र साथीसँगै लिएर वनवाटिका घुमेकी हुन् । बच्चाहरूको छुट्टीको समय हुनासाथ उनी अचेल त्यहाँ पुगिहाल्छिन् । उनी भन्छिन् ‘यहाँका बाटोहरू राम्रो हुनाले घुम्न आउने हामीजस्तालाई धेरै सजिलो भएको छ ।’

जमुना र आश्मा मात्रै होइन , वनबाटिका भित्रका स्तरीय टायलजडित बाटोले यहाँ आउने आन्तरिक पर्यटकलाई सहज भएको छ । धेरै जसो आन्तरिक पर्यटकले भरिने यस पर्यटकीय ठाउँमा दैनिक हजारौं अवलोकन र रमाइलोको लागि आउने गरेको वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेले बताए । ‘पिकनिकका लागि पनि यहाँ धेरै आउने गर्छन्।’ उनले भने ‘यहाँ शनिबारको दिन अझ बढी भीड हुन्छ । विशेषगरी आन्तरिक पर्यटक यहाँ आउँछन् ।’ साथै भारतको गोरखपुर र लखनउबाट पनि अवलोकनको लागि पर्यटक आउने गरेको उनले बताए ।

आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेश सरकार अन्तर्गत उद्योग , वन , वातावरण तथा पर्यटन मन्त्रालयले वनवाटिकाको पर्यटन प्रवद्र्धनका लागि रू एक करोड १० लाख रूपैयाँ बजेट छुट्याएसँगै यहाँ केहि राहत पुगेको छ । लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यमध्ये एक मानिने यस वनवाटिकामा पर्यटकका लागि धेरै प्रकारका मनमोहक दृश्यहरू यहाँ छन्। यहाँ साढे पाँचसय मिटर बाटोमा टायल लगाइएको छ ।
प्रदेश सरकार अन्तर्गत नै पाँच वटा पिकनिक सेड थप भएका छन् । पिकनिकको समयमा भीडभाड हुने यहाँ पिकनिक सेड थपिएसँगै धेरै सहज भएको स्थानीयको भनाइ छ । साथै सानो र साँघुरो कोठामा कार्यालय सञ्चालन गर्न बाध्य भएको वाटिकाको कार्यालय प्रदेशकै बजेटमा नयाँ भवन निर्माण भएसँगै धेरै व्यवस्थित बनेको महसुस गर्न सकिन्छ ।

दैनिकरूपमा आन्तरिक पर्यटक बढ्दै गइरहेको यस वाटिकामा आगामी दिनमा पनि तिनै तहका सरकारको अझै सहयोग भएमा अन्य ठाउँका पर्यटकलाई पनि वनवाटिकामा ल्याउन सकिनेमा अध्यक्ष बेलप्रसाद शर्मा ढुक्क छन् । त्यसैगरी कर्मचारी प्रमुख तारापति ज्ञवाली पनि प्रदेश सरकारको केही भएपनि सहयोगले वनवाटिकाको लागि ठूलै राहत मिलेको बताउँछन् । भित्री पथ स्तरीय हुनाले पर्यटकको लागि सहज भएको वनवाटिका भित्रकि व्यवसायी विनिता न्यौपानेले बताइन् । प्रवेशद्वारबाट प्रवेश गर्ने ३१५ मिटरको मुख्य बाटोमा तिलोत्तमा नगरपालिकाको सहयोगमा टायल लगाइएको छ भने वाटिकाको अन्य सबै सहायक बाटोहरूमा प्रदेश सरकार अन्तर्गतको यस मन्त्रालयले सहयोग गरेको सचिव फर्सुराम भण्डारीले बताए ।

तिलोत्तमा नगरपालिका वाड नम्बर १ र २ अन्तर्गतको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको ५७६ हेक्टर क्षेत्रफलमध्ये यसले ५१.३४ क्षेत्रफल ओगटेको छ । २०६२ सालमा शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उमानाथ कंडेलको पहल र सकृयतामा सुरू भएको यस वाटिका सुरूवातभन्दा आकाश जमिनको भिन्नता रहेको उनी बताउँछन् । जताततै घाँस र झाडीमात्रै थियो । कतिले त यो सफल हुँदैन समेत भनेर हतोत्षाहित बनाएको उनको तीतो अनुभव छ । संस्थापक अध्यक्ष बावुराम अर्यालले यसलाई यहाँसम्म ल्याउन निकै मिहिनेत गरेका छन् । नयाँ कामको लागि अगाडि बढ्दा कतिसम्म जटिल हुन्छ संस्थापक अध्यक्ष अर्यालले राम्रै महसुस गरेका छन् ।

शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र ( वनवाटिका ) कामा हाल धेरै चिज मुख्य आकर्षणका रूपमा रहेका छन् । गतवर्ष मात्रै नेपाल सरकारले मुलुकभरका सय पर्यटकीय क्षेत्रमध्ये यसलाई पनि समावेश गरेसँगै संघिय सरकारले पनि थप लगानी गर्ने यहाँका नागरिकको अपेक्षा छ। जंगली जनावर र चराचुरूङ्गी गरी हाल विभिन्न २१ प्रजातिका जनावरहरू यहाँ रहेका छन् । यस मनोरञ्जनात्मक वाटिकामा गत चैत्र महिनामा मात्रै आकर्षक बहुउद्देश्यीय भ्यू टावरको उद्घाटन भएको छ । यसले पनि वनवाटिकालाई थप आकर्षक प्रदान गरेको छ । शहीद पार्क , पुष्पलाल पार्क विपि पार्कजस्ता छवटा पार्क , चिल्ड्रेन पार्क रेलले यहाँ आउने हरकोहिको मन लोभ्याउँछ ।

वनवाटिकाको आकर्षण बढाउन र यसलाई पर्यटकको रोजाइको केन्द्र बनाउन यस परिसरको पुष्पलाल पार्कको लागि पनि प्रदेश सरकार अन्तर्गतको सो मन्त्रालयबाट रू पचास लाख बजेट विनियोजन भएको तत्कालिन मन्त्री लिला गिरीले बताए ।