बुटवल । अनेरास्ववियु रुपन्देहीले शैक्षिक क्षेत्रमा देखिएका समस्याको बिरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ । देवदहको आदर्श क्याम्पसमा शनिबार बसेको चौथो नियमित बैठकले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सशक्त आन्दोलन गर्ने तयारी गरेको हो ।
अनेरास्ववियुले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिलाई नघटाएसम्म सशक्त आन्दोलन गर्ने समेत तयारी गरेको छ । अनेरास्ववियुले जनतासँग प्रत्यक्ष जोडिएको जीवनयापन र शैक्षिक क्षेत्रका समस्या समाधान गर्न सबै तहका कमिटी सक्रिय बनाउने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलले बताए । अनेरास्ववियुको नियमित बैठकलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष यम पान्डेले संगठनका हरेक कमिटीले हरेक महिना एउटा कार्यक्रम अनिवार्य गर्न निर्देशन दिए । पान्डेले देशकै नमूना कमिटी बनेर देखाउन रुपन्देही जिल्ला कमिटीलाई आग्रह गरे ।
बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले अनेरास्ववियुप्रति आम जनताले पूर्ण बिश्वास रहेकोले जनताको चाहना अनुरुप आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने समस्या समाधान गर्न अनेरास्ववियु मात्र सक्षम भएको समेत बताए ।
बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पान्डेले अनेरास्ववियुका नेता कार्यकर्तालाई परम्परागत ढंगले नभएर आधुनिक र समयको माग अनुसार चल्न निर्देशन गरे । जिल्ला कमिटीका पूर्व अध्यक्ष समेत रहेका पान्डेले अनेरास्ववियुको अगुवाईमा प्राप्त भएका उपलब्धिहरुको रक्षाका लागि गम्भीर हुनुपर्ने अवस्था आएको बताउँदै अनुशासनपूर्वक समाजले स्वीकार गर्न सक्ने काम गर्न सबैलाई अपिल गरे ।
बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य रबि सेन्चुरी, केन्द्रीय कमिटी सदस्यहरु साजन भन्डारी, कृष्ण पौडेल, सन्दिप गुप्ता, सीमा घिमिरे, सरोज ठकुरी लगाएतले बोलेको जिल्ला कमिटी सचिव प्रकाश पराजुलीले बताए ।
बैठकले अनेरास्ववियुका नेता रबि सेन्चुरी तिलोत्तमा नगर कार्यपालिका सदस्यमा निर्वाचन भएकोमा सम्मान गरेको थियो भने पार्टीको पक्षमा जनमत सिर्जना गर्न सामाजिक सन्जाल लगायतका मल्टिमिडियाहरुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देवदहका स्वस्तिका खड्का र कबिता न्यौपानेलाई सम्मान गरेको प्रचार बिभाग उपप्रमुख सुरज भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया