ताजा अपडेट »

कमिशनको चक्करमा संकटमा पर्दै रोटी बेटीको सम्बन्ध

शनिबार, २८ जेठ २०७९

भैरहवा । जेठ १५ गते रुपन्देही प्रहरीले एमपी १९ सीसी ६६०२ नम्बरको भारतीय कार भैरहवा भन्सार बुझायो । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले नेपालबाट भारत तर्फ गई रहेको उक्त कारलाई चेकजाँच गर्दा कारले भन्सार गरेको कागजात नभएको भन्दै भन्सार कार्यालयलाई बुझाएको थियो ।

अन्दाजी २० लाख मूल्य राखी भन्सार बुझाईएको उक्त ईलामको पशुपति नगरबाट नेपाल प्रवेश गरि करिब १ साता नेपालको बिभिन्न भाग घुमेर बेलहिया हुदै भारत फर्किन लागेको प्रहरीको दावी थियो । सोही बिषयको प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले कारलाई भन्सार बुझाएको बताएको थियो ।

२० लाख मूल्यांकन गरिएको उक्त कारका चालकको अवस्थाको बारेमा विज्ञप्तीमा केही उल्लेख छैन् । चालक र सो मा सवार अन्य यात्रुहरुलाई पक्राउ गरिएको वा त्यतिकै छाडिएको बिषयमा प्रहरीको विज्ञप्ती मौन छ । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता भारतीय नम्बर प्लेटका सवारी बुझाउन यहाका प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, भन्सार कार्यालयको प्रतिष्प्रर्धा नै हुने गरेको छ । यसरी प्रतिष्पर्धा हुनुको कारणको आकर्षक कमिशन रकम । कमिशनकै कारण धमाधम भारतीय गाडीहरु जफत भई निलाम हुन थालेपछि अहिले भारतीय पर्यटकहरु नेपाल आउन डराई रहेका छन् । यसले नेपालको पर्यटन मा नभई यहाको रोटी–बेटीको सम्बन्धमै असर पुग्ने स्थानीयहरुको भनाई छ ।

सीमा भएको कारण नातागोतामा आउने भारतीयहरु नेपाल तर्फको नियमबारे त्यति जानकार हुदँैनन् । नेपाल प्रवेश गर्दा कसैले रोकटोक एवम चेकजाँच पनि गर्दैन । यसले उनिहरु निर्वाध नेपाल प्रवेश गर्छन तर नेपालमै चेकजाँचको क्रममा पक्राउ परे पछि बेवारिसे भन्दै प्रहरीले उनिहरुको गाडीलाई बरामद गर्दै भन्सार बुझाई दिन्छ । भैरहवा भन्सार कार्यालयका अनुसार भन्सार कार्यालयमा यसरी बुझाईएको गाडी निलामीमा जाने र निलामी रकमको १५ प्रतिशत रकम सुराकीले तथा बेवारिसे गाडीको हकमा प्रतिवेदकले १५ प्रतिशत रकम पाउने गरेका छन । प्रतिवेदकले गाडी मानिस सहित बुझाएको देखाए २० प्रतिशत कमिशन रकम पाउने गरेका छन् ।


चालु आर्थिक वर्षमै भैरहवा भन्सार कार्यालयमा १ करोड ४० लाख बराबरको ४ वटा चारपांग्रे र ४० लाख ५० हजार बराबरको ५४ थान दुई पांग्रे गरि जम्मा १ करोड ४४ लाख ५० हजारको ५८ थान भारतीय गाडीहरु प्राप्त भएको छ । कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानका अनुसार ५४ वटा मध्ये २९ वटा गाडीहरु ५९ लाख ८१ हजारमा निलाम भई सकेका छन । यस बाट सुराकी र प्रतिवेदकको गरि १४ लाख ३५ हजार ४४० रुपैया वितरण भएको छ । चालु वर्षकै अझै २९ वटा गाडीहरु निलामी हुन बाँकी नै रहेको छन ।

भन्सार कार्यालयमा आएका गाडीहरु लाई कार्यालयले अनुसन्धान गर्छ । सो क्रममा यदि १ महिना सम्म भित्र गाडीधनिले नेपाल प्रवेश गरेको कुनै प्रकारको कागजात देखाए जरिवाना गरे छाड्ने ब्यवस्था रहेको छ । भैरहवा भन्सार कार्यालयले नेपाल भित्रिने गाडीहरुको लागि २ प्रकारको ब्यवस्था गरेको छ । पहिलो नजिकैको शहर सम्म जानेलाई सोही दिन फर्किने गरि निःशुल्क रुपमा “सुविधा पास” दिने गरेको छ । दोश्रो नेपालको जुनसुकै स्थानमा जानका लागी मोटरसाईकलको हकमा दैनिक १ सय र चारपांग्रे सवारीको हकमा दैनिक ५ सय रुपैयाँ लिएर प्रवेश अनुमति दिने गरेको छ । यी दुवै अनुमति नभएका सवारी मात्र निलाम हुने गरेको भन्सार कार्यालयका प्रवक्ता पासवानको भनाई छ ।

भन्सार बुझाइने भारतीय नम्बर प्लेटका गाडीहरु मध्ये अधिकांश सुविधा अथवा भन्सार शुल्क नकाटी नेपाल प्रवेश गरेका गाडीहरु रहेका छन् । यस बाहेक अवैध कारोबारमा संलग्न, बेवारिसे रुपमा प्राप्त गाडीहरु पनि प्रहरीले भन्सार कार्यालयलाई बुझाउने गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलको भनाई छ । कमिशनकै लोभमा भारतीय गाडीहरु जफत गर्ने गरेको कुरा निराधार भएको उनको भनाई छ । नेपाल भित्र रहेको सबैलाई सुरक्षाको चासो प्रहरीको रहेको र अवैध रुपमा आएका सवारीलाई मात्र भन्सार पठाउने गरेको उनले बताए ।

भन्सार कार्यालयमा दर्ता भई सके पछि कानूनी रुपमै जानु पर्ने बाध्यता रहेको र यसको मारमा प्राय नियम नबुझेका सर्वसाधारण मात्र पर्ने गरेका छन । यसले गर्दा प्रवेश विन्दुमै भन्सार गरेको नगरेको चेकजाँच गर्नु पर्ने स्थानियहरुको भनाई छ ।