ताजा अपडेट »

किन सुरु गरियो भारत र बङ्गलादेशलक्षित पर्यटन प्रवर्द्धन अभियान ?

शनिबार, २१ जेठ २०७९

काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसङ्घले भारतीय र बङ्गलादेशी पर्यटक लक्षित गर्दै उक्त अभियान शुभारम्भ गरेको हो । 

कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरिएको परिसङ्घले जनाएको छ । हाल भारत र बङ्गलादेशमा निकै गर्मी छ । 

भारतको नयाँदिल्लीलगायत गन्तव्यमा ५० डिग्री हाराहारी तापक्रम पुगेको जनाइएको छ । भारत र बङ्गलादेशमा अहिले गर्मी बढिरहेकाले शीतलताका लागि नेपाल उपयुक्त गन्तव्य हुने र पर्यटकको सङ्ख्या पनि बढ्ने भएकाले अभियान सञ्चालन गरिएको परिसङ्घका महानिर्देशक दीपकराज जोशीले बताए । उनले भने, “अहिले भारत र बङ्गलादेशमा गर्मी भइरहेका बेला मानिसहरुले शीतल ठाउँ कहाँ हुन्छ भनेर खोजिरहेका हुन्छन् त्यस्तो बेला उनीहरुको माइन्डमा नेपाल क्लिक होस् भनेर ‘गर्मीसे बेहालः चलो नेपाल’ भन्ने हिन्दी र बङ्गलादेशी भाषामा प्रवद्र्धन सामग्री बनाएर प्रचारप्रसार गरिनेछ ।” 

महानिर्देशक जोशीले भारत र बङ्गलादेशमा रहेका परिसङ्घको नेटवर्कबाट पनि यो अभियान प्रवद्र्धन गरिने बताउनुभयो । परिसङ्घले भारतमा अल इन्डिया एसोसिएशन अफ इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग सहकार्य गर्दै आएको छ । 

यस्तै बङ्गलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग पनि परिसङ्घले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रवद्र्धन गरिने जोशीले बताउनुभयो । परिसङ्घले नेपालको पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो ।

नेपाल भित्रिने विदेशी पर्यटकमध्ये हालसम्मको आँकडामा भारत नै सबैभन्दा अगाडी छ । कोभिडपूर्व वार्षिक दुई लाख हाराहारी भारतीय पर्यटक नेपाल आउने गरेको रेकर्ड छ । कोभिड महामारीकै दौरानमा पनि सबैभन्दा बढी भारतीय नेपाल भ्रमणमा आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२०’का अनुसार सन् २०२० मा दुई लाख ३० हजार ८५, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।

सन् २०२० मा ४० हजार ३३६, सन् २०१९ दुई लाख ५४ हजार १५० र सन् २०१८ मा एक लाख ९४ हजार ३२३ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै बङ्गलादेशबाट सन् २०२० मा चार हजार ९१७, सन् २०१९ मा २५ हजार ८४९ र सन २०१८ मा २६ हजार ३५५ पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।

कोभिड महामारीपछि नेपालको पर्यटन बिस्तारै लयमा फर्किंदैछ । पछिल्ला दिनमा पर्यटक आगमन पनि निरन्तर बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् ।

पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।