स्थानीय निर्वाचनको परिणामले हामीलाई नयाँ ठाँउमा पुराएको छ । नेपाली जनताको, खासगरी नयाँ पुस्ताको अभिमत यथास्थितिवादका विपक्षमा देखिएको छ । स्थानीय निर्वाचनको परिणामले पार्टीहरुलाई पहिलो, दोस्रो वा तेस्रो पोजिसनमा उभ्याइएको परिस्थितिमा ती पार्टीहरुलाई जनताले विश्वास गरेको भनेर मुल्यांकन गर्नु गम्भीर गल्ती हुन पुग्दछ ।
हामि कहाँ एउटा भनाइ छ कि नहुनु भन्दा कानो मामा ठिकझ भनेजस्तै बाध्यात्मक परिस्थितिमा उन्नत विकल्पको अभावमा, तुलनात्मक रूपमा कम खराब ठानिएको पार्टी र कम खराब ठानिएको पात्रलाई जनताले मतदान गरेका छन । यही परिणामलाई आधार बनाएर शेरबहादुर, केपी ओलि वा प्रचण्ड लगायतका नेताहरू र तिनको पार्टीले नयाँ नेपालको खाका कोर्न सक्दछन भनेर जनताले मतदान गरेका छन, भनेर बुझ्नु अल्पज्ञान मात्र हुन जानेछ ।
आजको परिणामले नेताहरू र तिनि आवद्ध पार्टिहरु भन्दा जनताहरुको चेतना अगाडि रहेको छ भन्ने कुरा पुष्टि हुन पुगेको छ । स्थानीय निर्वाचनको अभिमतद्वारा पार्टी नेतृत्व र पार्टिहरुलाई रुपान्तरित हुने वा समाप्तिको दिशामा अगाडि बढ्ने भन्ने कुराको सङ्केत गरिएको छ भनेर बुझ्नु पर्दछ । तर पार्टी र तिनको नेतृत्वले जनताको यो सङ्केतलाई बुझि राखेको देखिदैन । उनीहरु अहिलेपनि उनै बासि कुरा, उनै पुराना थोत्रा सिद्धान्तको रटना, उहीँ घमण्ड, उहीँ अहंकार र उहीँ पुरानै सङ्गठनात्मक संरचनाका आधारमा अगाडि बढ्न सकिन्छ भन्ने चिन्तनमा रहेको देखिन्छन् । उनीहरु आत्मा समिक्षाको निमित्त तयार देखिदैनन् । जस्तोकि निर्वाचनको परिणाममा एमाले हारेको त नभनौ तर ऊ दोस्रो पोजिसनमा झर्यो, पहिलो बाट एमाले पार्टी दोस्रो पोजिसनमा किन झर्यो !
उस्ले निस्कर्ष निकाल्यो कि आन्तरिक अन्तरघातका कारणले दोस्रोमा झारिएको कुरा गर्याे, अथवा उसले यो पनि भनिरहेको छ कि हाम्रो सिट सङ्ख्या मात्र घटेको छ तर मत सङ्ख्याको आधारमा हामी पहिलोनै छौ, यो कुरा पनि साँचो हो ! गठबन्धनका कारणले गर्दानै एमाले दोस्रो भएको हो । यो कुरा आन्तरिक प्रशिक्षणमा कार्यकर्ताको मनोबल उठाउनको निमित्त ठिक छ ।
त्यसै गरि नेपाली कांग्रेस पार्टी सिट सङ्ख्याको हिसाबले पहिलो बनेकोमा नेपाली जनताको अभिमत हामी सङ्गै रहेको निष्कर्षमा पुगेको देखिन्छ । त्यसैगरि प्रचण्डजी नेकपाबाट विभाजित भएर आउदा पनि अगिल्लो निर्वाचन भन्दा यसपालि हामी अझ अगाडि बढेका छौँ । त्यसैले जनताको अभिमत हामीतिर सोझिएको छ र आगामि निर्वाचनमा हामी पहिलो बन्न सक्दछौ भन्ने भनाइ रहेको छ । माधव नेपालजी र वहाको पार्टी आफूले जित्ने भन्दा पनि एमालेलाई दोस्रो स्थानमा झारिएकोमा विजय ठान्नु भएको छ । गठवन्धनको माध्यमबाट आगामि दिनमा राम्रो परिणाम ल्याउने आसामा देखिनु हुन्छ ।
वाबुराम, ऊपेन्द्रजीको पार्टीको परिणाम सन्तोषजनक देखिएन पार्टी विभाजन भएको अवस्था र अर्को मदेश आन्दोलनको रापताप सधै रहिरहन्छ भन्ने चेतना लाई यो स्थानीय निर्वाचनको परिणामले गलत सावित गरिदिएको छ, राप्रपा र राजेन्द्रजी हरुको यो निर्वाचनमा केही चर्चा चहलपहल र केही परिणाम पनि आएको छ, यसैका आधारमा आगामि दिनमा अर्थात आउने निर्वाचनमा राप्रपा राम्रो पोजिसनमा आउनेछ भन्ने कतिपयको अनुमान छ । तर, त्यो कुरा यथार्थ र वस्तुसंगत होइन किनकि अहिले राप्रपा तर्फ देखा परेको अभिमत दलहरू र तिनको नेतृत्वको गलत चिन्तन र गलत व्यवहारका कारण असन्तुष्टीका मतहरु त्यहा पोखियका छन् र स्मरण रहोस कि एक्काइसौ शताष्दीको युवा पुस्ताले राजतन्त्र सहितको व्यवस्थालाई अनुमोदन गर्नेछन् भने कल्पना गर्नु अल्पज्ञान मात्र हुनेछ।
खासगरि सात राजनैतिक पार्टीहरू जो यतिवेला चर्चामा रहेकाछन् । उनीहरू आजको मतदाताले देखाएको बाटो र उनीहरूको संकेतलाई वुझ्न सक्दछन् वा सक्दैनन्। कुन पार्टीको पोजीशन आगामि दिनहरूमा के रहनेछ भन्ने कुराको निर्धारण हुनेछ। नेपाली जनताको चाहाना, आकांक्षा र आवश्यकता, माक्र्सवाद लेनीनवाद, माओवाद अथवा विचारधारा, या सर्वहारा सांस्कृतिक क्रान्ति वा सर्वहारा अधिनायकत्व, गान्धीवाद, विपिवाद या लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, जनवाद नयाँ जनवाद, या साम्यवाद, हिन्दुराज्य, संवैघानिक राजतन्त्र, आदि आदि कुराहरूमा आजका मतदाताको खासै चासो र बहसको विषय बनेको देखिदैन । उनीहरु खासगरी विकास, समृद्धि, सुशासन, सदाचार र सादगिलाई मन पराउने गर्दछन । नेताहरूका गाली पुराणहरु सदनमा वा बाहिर तिमीहरू घण्टौ लगाएर भोक्रो फुलाएर, घाँटी सुक्नेगरि जति सुकै चिच्याउने गर ती कुराहरूमा जनताको कुनै चासो देखिएको छैन । तिमीहरूका बासि कुराहरूमा तिम्रा दास र दलालहरुले बाहेक कसैले तालि ठोक्ने छैन ।
यसर्थ अब आगामि दिनहरूमा नेकपा एमालेले प्रचण्ड फकाएर वा उपेन्द्रलाई ललिपप देखाएर या जसरी पनि गठबन्धन टुटाएर मैले सत्ता प्राप्त गर्नेछु भन्ने सोचाई राख्नुको साटो आफ्ना गल्ती कमजोरीहरु प्रति आत्मसमिक्षा गर्ने ठूलो भएर होइनकि सानो भएर मात्र अन्यलाई साथमा लिन सकिन्छ भन्ने मान्यतामा अगाडि बढ्ला ! के त्यसो गर्ने हिम्मत गर्न सक्दछ नेकपा एमाले ! हेक्का राखौ कि अब एक्काईसौ शताब्दीका युवाहरूसंग हावादारी विकासका उडन्ते गफ, भिन्न माथिको निर्मम प्रहार र उखान टुक्काको कुनै साईनो र सम्बन्ध रहने छैन ।
अतः अगाडि बढ्नको निमित्त गम्भीर आत्मा समिक्षा गर्न जरुरी देखिन्छ । त्यसैगरी नेपाली कांग्रेस अन्य दलहरुको सहयोगमा आजको परिणाममा पहिलो देखिएको छ । यो नेताहरूको अस्तित्व र पार्टी रक्षाको निमित्त खासगरी भिन्न पार्टीको मुर्खताको कारण बनेको गठबन्धन कुनै पनि बेला भत्किन सक्दछ् । अतः रणनैतिक रुपमानै यहि गठबन्धनको मत सङ्ख्या जोडेर सत्तासीन भइरहन्छौ भनेर सोच्नु बुद्धिमानि कुरा हुन सक्दैन भने नेतृत्वले गठबन्धन गर्दैमा कार्यकर्ता र पक्षधरका मतदाताले सधैनै विश्वास गरिरहने छन् भनेर सोच्नु झनै गल्ती हुन पुग्दछ । अहिलेकै निर्वाचनमा विद्रोहका घटनाहरु हिजोको तुलनामा बढि देखापर्नु र कैयौं ठाउँमा गठबन्धनका उम्मेदवार लाई मतदाताले अस्विकृत गर्नुले भोलि यि प्रक्रियाहरु अझ बढेर जानेछन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
नेपाली कांग्रेसका सभापति र आजका प्रधानमन्त्री पाँचौ पटक प्रधानमन्त्री भै सक्नुभएको छ । उमेरको हिसाबले पनि सत्तरीको ढिकढाक पुग्नु भएको छ, वहाले नेपाली कांग्रेस र नेपाल राष्ट्रलाई अग्रगामि दिशामा डोराउनुहुनेछ भनेर खै कसरी विश्वास गर्न सकिन्छ र ? वहा शारीरिक रुपमा पनि कति कमजोर भै सक्नु भएको रहेछ भन्ने कुरा बुद्ध जयन्तीको सन्दर्भमा लुम्बिनीमा हामी सबैले अनुभुति गरेकै छौँ । त्यसैले नेपाली काङ्ग्रेस पार्टी के यो अवस्थालाई चिरफार गर्दै अगाडि बढ्ने हिम्मत गर्ला र ? यदि गर्दैन भने के यही पोजिसनमा उस्को अस्तित्व रहिरहन्छ त !
विज्ञानको नियम यो हो कि यथास्थितिमा कुनै पनि वस्तु रहिरहन सक्दैन । माओवादि र प्रचण्डजीहरुको अहिलेको परिणाम तुलनात्मक रूपमा राम्रो आएको छ । त्यो परिणाम पैसठ्ठि र पैतिसको योगफलको नतिजा हो भनेर मान्नुपर्छ, यसैमा घमण्ड गर्नु गम्भीर गल्ती हुन पुग्दछ । गठबन्धनको कुरा पनि माओवादिको लागि पनि साँचो हो, यो सधै चिरस्थायि रहि रहने छैन । अतः प्रचण्डजी र वहाको पार्टीले माओवाद र साम्यवाद जो आफुहरुले नै पालना गरिरहनु भएको छैन र माथिनै भनी सकियो कि ठुलाठुला दर्शन र सिद्धान्त का फोस्रा कुराहरु सङ्ग जनताको कुनै साईनो र सम्बन्ध रहेको छैन लाई बटम लाईन बनाएर मेरो गोरुको बार्हे टक्काझ भन्ने जडताबाट माथि उठ्न जरुरी भएको छ, र पार्टीलाई पुनः एकीकरण र पुनर्गठन गर्ने दिशामा सोच्नको लागि आजको परिस्थितिले झक्झकाएको छ ।
मेरो नेतृत्व, मेरो सिद्धान्त र मेरो चुनाव चिन्हको चेतनाबाट अगाडि बढ्न जरुरी देखिएको छ । के प्रचण्डजी त्यसो गर्न हिम्मत गर्नुहोला वा बारम्बार नेपाली कांग्रेसको वैशाखि टेकेर वैतरणि तर्ने र केपी ओलिलाई देखाइदिने इगो पालि रहनु होला ! समयले बताउने छ । बाबुरामजी तपाई इमानदार र सादगि नेता हुनुहुन्छ । विद्वान पनि हुनुहुन्छ मेहनति र लगनशील पनि हुनुहुन्छ तर तपाईंको विचार र जनताको चेतनाको बिचमा मेल खाईरहेको छैन । गडबडी कहि न कहि पक्कै भएको छ, जनताले धेरै कुरा चाहेको छैन ।
जनताले मात्र विकास शुसासन र समृद्धि चाहेको छ । नेपाली जनताले दर्शन र सिद्धान्तको रटना होइन व्यवहार चाहेको छन् । नेपाली जनताले मात्र काम गरेर देखाउने नेपाली केजरिवाल खोजिरहेका छन् । अतः तपाईले पनि आफुलाई पुनर्मुल्याङ्कन गर्न जरुरी भएको छ कि हामीकहाँ चुकेउ ! मधेस आन्दोलनबाट मधेसको नेतृत्वमा जन्मनु भएका नेताजीहरु सधै मधेस आन्दोलनको प्रभाव रहिरहदैन । जसरी माओवादि आन्दोलनको प्रभाव पहिलो संविधान सभामा देखिएको थियो । त्यो दोस्रोमा आई पुग्दा निश्प्रभावि भएको थियो ठिक त्यसरीनै मधेस आन्दोलन बारे पनि यो कुरा साचो हुन आउछ । आजको परिणामले पनि देखाईरहेको छ कि मधेस बाहुल्य इलाकाहरुमा यो स्थानीय निर्वाचनमा भित्रै सम्म कैयौं ठाउँमा नेपाली काङ्ग्रेसका उम्मेदवार हरुले विजय हासिल गरेका छन् ।
एमाले र माओवादिका उम्मेदवार हरुले विजय प्राप्त गरेका छन । मधेसी मुलका बालेन शाहलाई काठमाडौका जनताले जिताएर जात र भुगोल मिसाई दिएका छन् । यसर्थ अब हामी सबै सबै जातियता र भुगोलको चेतना बाट माथि र अंशबाट समग्रमा उठ्न जरुरी देखिएको छ । मेरो अस्तित्व काङ्ग्रेसले जोगाई दिन्छ कि एमालेले जोगाई दिन्छ भनेर दिर्घकालिन सोच राख्नु भनेको ओरालो यात्रा तय गर्नु सरह हुन पुग्छ !
तालमेल, संयुक्त मोर्चा वा गठबन्धन आकस्मिक विषय हो । रणनैतिक महत्त्वको कुरा होईन भनेर बुझ्दा राम्रो हुन्छ भर्खरै अधिवेशन पछि कमल थापालाई पराजित गर्दै नेतृत्वमा आएका राजेन्द्रजीले नेतृत्व समालेपछि राप्रपा विचारको हिसाबले होईनकि सङ्गठनात्मक हिसाबले केही बलियो देखियको छ । तर यो कुरा धुर्व सत्य हो कि उस्ले राजतन्त्र प्रतिको आफ्नो धारणामा पुनर्विचार नगर्दासम्म उस्को पनि विवेकशीलको जस्तै अवस्था हुनेछ भनेर भन्न सकिन्छ ।
यतिबेला देश अत्यन्त अप्ठ्यारो परिस्थितिबाट गुज्रिराखेको छ । देश श्रीलंकाको बाटोमा हिडिरहेको छ भन्न थालिएको छ विदेशी ऋण कैयौं गुना बढेर गएको छ । बेरोजगार युवायुवतीको सङ्ख्या दिन प्रति दिन बढ्दै गई राखेको छ । अराजकता, भ्रष्टाचार र बेथितिले देश नराम्रोसंग जकडिएको छ । महङ्गाईको मारमा जनता परिरहेका छन् देशबाट निकासी गर्ने कुनै वस्तु उत्पादन गर्न सकिरहेका छैनौं, खाली पैठारी मात्र गरिरहदा व्यापारीक घाटा नराम्रो सङ बढेर गएको छ । यस्तो विषम परिस्थितिमा पार्टीका नेताहरुको चेतना नखुल्नु, इगो र अहम पालेर बसिरहनु हामी सबै मिलेर बर्बादिको दिशामा बढ्न लागेको देशलाई हातेमालो गरेर बचाउनु पर्दछ भन्ने चेतना नआउनु अत्यन्त दु:खद कुरा हो ।
त्यसैले अब राजनैतिक कार्यदिशा बारेका ठूलाठूला सिद्धान्त र महान बहसलाई कम्तिमा पाँच वर्षलाई थाती राखौँ, गणतन्त्र, समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, शुसासन, समृद्धि र सदाचारको विचारमा एक बनौँ र एक ढिक्का बनेर अगाडि बढौ त नेपाल विकासशील राष्ट्रको सुचिमा पुग्ने यात्रामा कसरी अगाडि न बढ्ला ? अहिलेको स्थानीय निर्वाचनको मतदाताले देखाएको मार्ग यही दिशामा हुन सक्दछ । के हामी सबैले यसरी सोच्न सक्दछौ !
प्रतिक्रिया