ताजा अपडेट »

एक हजार शैयाको ‘श्रमिक अस्पताल’ निर्माणको तयारी, सम्भाव्यता अध्ययन टोली भैरहवामा

विहीबार, १९ जेठ २०७९

भैरहवा । नेपालमा अथवा विदेशमा काम गर्ने नेपाली श्रमिक एवम नेपालमा काम गरिरहेका बिदेशी श्रमिकलाई लक्षित गरि नेपालमा श्रमिक अस्पताल निर्माणको काम अगाडी बढेको छ । सबै प्रकारको स्वास्थ्य सेवाहरु उपलब्ध गराउने गरि अस्पताल निर्माण गर्नको लागि गठित सम्भाव्यता अध्ययन टोली सुझाव संकलनको लागी भैरहवा आई पुगेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डाक्टर दिपक काफ्लेको संयोजकत्वमा गठित टोलीले रुपन्देहीका उद्योगी, ब्यवसायी, श्रमिक, सरकारी कर्मचारी संग अस्पतालको मोडल, जग्गा उपलब्धता लगायतको बिषयमा छलफल गरेको छ । सह–सचिव काफ्लेले श्रमको सम्मान‚ सुरक्षित कार्य थलो‚ सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि श्रमिक अस्पताल निर्माण आवश्यक देखिएको जनाए । उनले हरेक प्रदेशमा अनौपचरिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने गरी श्रमिक अस्पताल बनाउनुपर्ने योजना अघि सारिएको बताए ।

काफ्लेले ७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधी उपचार सुविधा उपलब्ध गराउने, पेशागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने सरकारको योजना रहेको बताए । साथै योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि समेत सहुलियतमा उपचार सेवा उपलब्ध गराईने छ ।

‘वैदेशिक रोजगारीमा रहेका लाखौँ श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य सुरक्षा हित पनि सम्बोधन गर्ने गरी श्रमिक अस्पताल निर्माण आवश्यक देखिएको छ’ मन्त्रालयका सह–सचिव दिपक काफ्लेले भने ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीका लागि छुट्टै अस्पताल छन् तर श्रमिकका लागि छुट्टै अस्पताल नभएको र श्रमिकका लागि कामको सिलसिलामा पेसागत कारणले लाग्ने रोगका लागि रोगको निदान, रोकथाम र उपचार गर्न रोगको अनुसन्धान र निदान एवं उपयुक्त उपचार गर्ने केन्द्रसहितको श्रमिक अस्पताल अति आवश्यक छ ।’ अस्पताल कुनै एक ठाउँमा निर्माण गरेर यसको शाखाहरु नेपालका बिभिन्न स्थानमा स्थापना गर्न सकिने काफ्लेको भनाई छ ।

काफ्लेले अस्पताल विकास समिति मोडल वा अस्पताल निर्माण परियोजना निर्माण मोडेले गरि २ वटा मोडेल मध्ये कुन तरिकाबाट अस्पताल सञ्चालन गर्ने बिषयमा छलफल भइ रहेको बताए । उनले नेपालमा बिशेष गरि खाडी मुलुकहरु यस बिषयमा लगानी गर्न उत्सुक रहेको काफ्लेको भनाई छ । सम्भाव्यता अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि छन् । टोलीले रुपन्देही संगै बिराटनगर र बारामा सुझाव संकलन गरि सकेको छ ।

टोलीले अस्पताल सञ्चालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने र असार अन्तिम सम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको उनले जनाए । सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० मा अस्पतालको डिपिआरको लागी बजेट समेत बिनियोजन गरि सकेको छ ।