ताजा अपडेट »

जीवनराम श्रेष्ठको प्रश्न- काठमाडौंलाई राजधानी जस्तो बनाउन यहीँ जन्मेको मान्छे प्रधानमन्त्री बन्नुपर्ने हो र ?

विहीबार, १९ जेठ २०७९

काठमाडौ । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौं देशकै राजधानीजस्तो बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले राजधानी देशको अनुहार रहेको बताए । 

तर, देशकै अनुहार मानिने राजधानीको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै उनले भने, ‘काठमाडौंलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’ काठमाडौंलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने भन्दै उनले यसका लागि योजना ल्याउनुपर्ने बताए । 

काठमाडौंमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्दै उनले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकासलक्षित कार्यक्रम ल्याउनुपर्ने बताए ।