ताजा अपडेट »

राजनीति र उद्यमशीलता

बुधबार, १८ जेठ २०७९

राजनीति र उद्यमशीलताबीच अन्योन्याश्रित सम्बन्ध छ। समृद्धिका लागि विधिको शासन ९राजनीति० र उद्यमशीलता साथै उद्यमशीलताका लागि ज्ञान, सीप र पूँजीमा पहुँच अपरिहार्य हुन्छ । जनताको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै कार्य गर्ने नीति राजनीति हो । राज्य सञ्चालन(प्रणालीमा आर्थिक पक्ष सबैभन्दा बलियो अंग हो । आर्थिक समृद्धिका लागि सबै नागरिकलाई काम र रोजगारीमा आबद्ध गर्नुपर्छ ।

स्थानीयस्तरदेखि नै उत्पादन वृद्धि एवं रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउन उद्यमशीलताको महत्वपूर्ण भूमिका हुन्छ । मुलुकले जनसांख्यिक लाभ लिन र उद्यमशील समाज निमार्णको उद्देश्य हासिल गर्न जागिरे होइन उद्यमी मानसिकताको विकास गरी युवालाई सक्रिय गराउन जरुरी छ। उद्यमलाई नीतिगत रूपमा बलियो बनाउने, उद्यमीलाई अधिकार सम्पन्न गराउने दायित्व राज्यको हो वा भनौँ राजनीतिको हो ।

यतिबेला कोभिड–१९ तथा रुस र युक्रेनको युद्धले विश्वमा बहुआयामिक प्रभाव परेको छ । विश्व अर्थतन्त्रमा बाधा पुर्‍याएको छ भने जनजीवन दिनप्रतिदिन अत्यन्तै कष्टकर बन्दै गएको छ । संयुक्त राष्ट्रसंघको स्थापना भएपछिको यो मानव संकटमात्र होइन, आर्थिक र राजनीतिक संकट पनि हो जसले समाजको भित्री तहसम्म प्रभाव पारेको छ । विभिन्न उद्यमका माध्यमबाट उत्पादनशील रोजगारीको तथा स्वरोजगारीको सिर्जना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, निर्यातमा वृद्धि, गरिबी निवारणका लागि ठोस र कार्यान्वयन गर्न सकिने खालका प्रगतीशील कार्यक्रमहरू राजनीतिक तवरबाट सञ्चालन र तिनको सुनिश्चितता आवश्यक छ। जसको निम्ति राजनीतिक स्थायित्व र राज्यले उद्यममुखी नीति अवलम्बन गर्नुपर्ने हुन्छ । तसर्थ राजनीति र उद्यमशीलता एक अर्काका परिपूरक हुन् ।

कुनै व्यक्ति उद्यमी हुनु भनेको व्यवसाय सञ्चालन गर्ने कुरा मात्र होइन, सिर्जनात्मक व्यक्तित्वको निर्माण गर्नु पनि हो । उद्यमी त्यो हो, जोसँग नयाँ विचार ग्रहण गर्ने क्षमता, सपना देख्ने र सपनालाई वास्तविकतामा बदल्ने इच्छाशक्ति, जोखिम मोल्न सक्ने क्षमता, वस्तु तथा सेवाको उत्पादन तथा आवश्यकता सिर्जना गर्ने दक्षता हुन्छ । स्थानीयस्तरमा उपलब्ध श्रम, स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोगका साथै सीपमूलक तालिम र वित्तीय पहुुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । उद्यमहरू विभिन्न ढाँचामा सञ्चालन गर्न सकिन्छ । व्यक्तिगत, सहकारी तथा सरकारी प्रयासबाट व्यवसाय वा उद्यमशीलताको विकास गर्न सकिन्छ ।

आधुनिक प्रविधिमा आधारित कृषि, ब्युटिपार्लर, रेस्टुरेन्ट, निर्माण, सिलाई तथा खेलौनाको निर्माण, पेशागत शिल्पी, कालीगढ, बेकरी, क्याफे, सफाइकर्मी, ई–मार्केटिङ्ग तथा दैनिक उपभोग्य सानासाना सामाग्रीको उत्पादन जसको लागत कम हुन्छ र जसबाट रोजगारीको सिर्जना गर्न सकिन्छ । कतिपय आर्थिक रूपले उदीयमान मुलुकहरूमा साना तथा मझौला व्यवसायले कुल रोजगारीको ठूलो प्रतिशत ओगटेको देखिन्छ र कुल ग्राहस्थ उत्पादनमा ठूलो योगदान पुर्‍याएका छन् । यस्ता व्यवसायमा राजनीतिककर्मी पनि जोडिनुपर्छ जसबाट अन्यलाई प्रोत्साहन मिल्छ ।

वर्तमान विश्वमा धनी र गरीबबीचको असमानता बढ्दै गएको छ । गरिबी र बेरोजगारीको खतरनाक सम्भावित संकटबाट बच्न नयाँ र सिर्जनात्मक निर्णय गर्न आवश्यक छ । हाम्रा विद्यमान व्यवस्थाहरू र आर्थिक नीतिहरू बढ्दो असमानताको दूरी कम गर्न सफल भइरहेका छैनन् । धनीहरूको सम्पत्ति प्रत्येक दिन बढ्दै जाने र गरीब झन् गरीब बन्दै जाने कुरा समाजका लागि चिन्ताको विषय हो । उत्पादनमा या उद्यममा राज्यले प्रत्साहन नगर्ने हो भने मान्छेले आफू बाँच्नको लागि कि त भ्रष्टाचार गर्छ कि दलाल पूँजीको विकास गर्नतर्फ लाग्छ। यसबाट कमिसनको गोलचक्करमा सरकारी सम्पत्तिको दोहनले निरन्तरता पाउँछ । राष्ट्रिय पूँजीको विकास हुन सक्दैन र देश आर्थिक संकटमा फस्छ । यसबाट बच्ने र बचाउने उपाय हो उद्यमशीलता र राजनीतिक इमानदारिता ।

तीनै तहका सरकारको सहजीकरणबाट उद्यमशीलताको विकासका लागि उद्यमीमैत्री कानुन, उद्यमीलाई प्रोत्साहित गर्ने वित्तीय उत्प्रेरणामूलक नीतिहरू, पुँजीको उपलब्धता, सहुलियतपूर्ण कर्जा, लाभदायक व्यवसायको स्थापना र विकासका लागि अध्ययन अनुसन्धान, आधार पूँजीका लागि सरकार वा संस्थाद्वारा प्राथमिक लगानीको प्रत्याभूति, बजारको सही व्यवस्थापन तथा पहुँच, प्रतिस्पर्धी खुला कोषको व्यवस्था, आवश्यक ज्ञान, सीप र सूचना र प्रविधिको उपलब्धताजस्ता कुराको व्यवस्थापन आवश्यक हुन्छ। यसका साथै जोखिम न्यूनीकरणका लागि अनिवार्य बीमाको व्यवस्था गर्नुपर्छ जसबाट आफ्नो लगानी रहेको क्षेत्रमा कुनै विपत्ति आएमा लगानी डुब्ने भय नहोस्।

समाजको विविधतालाई राम्रोसँग सम्बोधन गरिएन भने समाजमा आर्थिक स्रोत हुने र नहुनेका बीच, पहुँच हुने र नहुनेका बीच, शक्ति हुने र नहुनेका बीच साथै सूचना तथा ज्ञान हुने र नहुनेका बीच ठूलो असमानता उत्पन्न हुन जान्छ । त्यो असमानताको व्यवस्थापन गर्ने राजनीतिले हो, तसर्थ राजनीति गर्नेहरु नै राजनीति सँगै उद्यममा जोडिनु पर्छ । दिगो रूपमा आर्थिक समानता, सामाजिक न्यायको सुनिश्चितता गर्न, परिवर्तनको लाभ वर्तमान पुस्ताले नै प्राप्त गर्न, नागरिकको जीवनको गुणस्तर वृद्धि गरी विकास र समृद्धि हासिल गर्ने कुरा प्राथमिकतामा राख्नुपर्छ । तीव्र आर्थिक वृद्धिले व्यक्तिमा पुँजीको अत्यधिक केन्द्रीकरण हुन सक्ने हुँदा सरकारले वितरण र पुनर्वितरणका विवेकशील नीतिहरू लागू गर्नुपर्छ ।

उद्यमशीलताले स्वाभाविक रूपमा नाफाको अपेक्षासहित जोखिम लिने क्षमताको माग गर्दछ । राज्यको शासनव्यवस्था सञ्चालन गरिरहँदा आर्थिक पक्ष बलियो भएन भने जनताको अपेक्षा पूर्ति नहुने र राजनीतिप्रति नै बितृष्णा पैदा हुने हुन्छ । आर्थिक उपार्जनको लागि हरेक नागरिकलाई उद्यमसँग जोड्नु आजक‍ो आवश्यकता हो । त्यसको सुरुवात राजनीतिज्ञबाट गर्नु पर्छ, राजनीतिज्ञ उद्यमी हुनुपर्छ, त्यस्तो राजनीतिज्ञ जसले कुनै न कुनै उद्यम गरेको होस् ।

राजनीतिज्ञहरू आफ्नै उद्यमबाटै आर्थिक रूपमा बलिया हुन सक्ने हो भने भ्रष्टाचार नहुनेमा कुनै शंका छैन । अब राजनीतिज्ञहरु राजनीति राजनीति भन्दै कुद्ने मात्रै होइन, उत्पादनसँग जोडिनु, उद्यमी बन्नु, हात्तीको देखाउने दाँत जस्तो उद्यमी होइन नमुना र योग्य उद्यमी बनेर देश परिवर्तनको ढोका उघार्न सक्ने हुनु नै आजको आवश्यकता हो ।