तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको मेयरमा पराजित एमाले उम्मेदवार मोहन चापागाईंले वडाअध्यक्षहरुले ल्याएको मतलाई विश्लेषण गर्दा उत्साहजनक मत ल्याएका छन् । नगरका १७ वटै वडामा एमाले र काँग्रेसका वडाअध्यक्षहरुले प्राप्त गरेको मतको अन्तर तीनहजार। ९२५ छ भने मेयरमा काँग्रेसबाट विजयी रामकृष्ण खाणको तुलनामा चापागाईंले ७६५ मत मात्र कम ल्याएका छन् । यस हिसाबले एमालेका वडाअध्यक्षहरुले भन्दा चापागाईंले धेरै मत हासिल गरेको देखिएको छ ।
१७ वटा वडाबाट एमालेका वडाअध्यक्षहरुले ल्याएको मत जोड्दा २२ हजार ४३४ हुन्छ भने काँग्रेसका १७ वटै वडाअध्यक्षहरुले ल्याएको मत जोड्दा २६ हजार ३५९ हुन आउँछ । यसको ठिक विपरित काँग्रेसबाट विजयी खाणले भने पार्टीका १७ वटै वडाअध्यक्षहरुले ल्याएको मत भन्दा कम मत मात्रै प्राप्त गरेका छन् । १७ वटै वडाका काँग्रेस वडाअध्यक्षका उम्मेदवारहरुले २६ हजार ३५९ मत ल्याउँदा खाणले भने २४ हजार ३९६ मत मात्रै पाएका छन् । वडाअध्यक्षहरुले ल्याएको मतलाई पार्टीको मत मान्ने हो भने एमालेले तिलोत्तमामा २२ हजार ४३४ मत ल्याएको छ । तर चापागाईंले भने २३ हजार ६३१ मत ल्याएका छन् ।
त्यस्तै काँग्रेसले तिलोत्तमामा २६ हजार ३५९ मत ल्याउँदा खाणले भने जम्मा २४ हजार ३९६ मत मात्रै पाएका छन् । करिव दुईहजार मत चापागाईंले काँग्रेसी मतदाताबाट चोरेको देखिएको छ । उता काँग्रेस उम्मेदवार खाण भने माओवादी केन्द्रसँगको गठबन्धनबाट उम्मेदवार थिए । यस हिसावले करिव तीनहजार मत खाणलाई माओवादीबाट थपिएको देखिन्छ ।
नगरपालिकामा एमालेले उपप्रमुख सहित वडा नम्बर १, ४, ७, ८, १०, ११, १२ र १५ गरी आठ वटा वडा जितेको छ भने काँग्रेसले प्रमुख सहित नौं वटा वडामा विजय हासिल गरेको छ । कतिपय जनमुक्तिको बाहुल्य रहेको वडाहरुमा जनमुक्ति पार्टीका उम्मेदवारको न्युन मत आएको समेत पाइएको छ । यस हिसावले जनमुक्तिको धेरै मत काँग्रेस उम्मेदवार खाणले प्राप्त गरेको देखिन्छ ।
प्रतिक्रिया