ताजा अपडेट »

बालेन विश्लेषण र मुलुकको भविष्य

शनिबार, १४ जेठ २०७९

मुलुकको सदियौंदेखिको राजधानी, सर्वशक्तिमान, उच्च पदस्थ, चेतनशील नागरिक बस्ने ठाउँमा दल इतरबाट स्वतन्त्र उमेदवार मेयरमा बिजयी हुनु राजनीतिक रुपमा निकै ठूलो सन्देश हो । यसले जनताको मनोभावना र राजनीतिक रुपमा कोर्ष परिवर्तनको स्पष्ट संकेत गर्दछ।

एउटा कुनै औपचारिक संगठनबिना, ठूलो सभा र जुलुसबिना पनि एउटा आशा र विश्वास जगायो भने जनताले जनमत दिल खोलेर दिने रहेछ भन्ने एउटा फरक नजिर स्थापित भएको छ । मेयरको प्रतिष्पर्धामा चिनिएका खारिएका पुराना मेयर केशव स्थापितलाई बिस्थापित गरेकाछ्न । नेपालको राजनीतिक धरोहर गणेशमान सिंहको बुहारी प्रकाशमान सिंहको धर्मपत्नीलाई पाखा लगाउन सफल भएका छ्न ।

निश्चय नै अबका दिनहरुमा पौडी खेलिरहेको पुराना सदाबहारका पौडिवाज र पौडी खेल्ने तीब्र चाहना राखेको नवोदित खेलाडीको काम गर्ने शैली, आचार विचार, आदर्श, आचारण, कार्यसम्पादनको अवश्य लेखाजोखा हुनेछ। खासगरी नवोदित खेलाडीको कार्यकारी भूमिकाको खेल हेर्न आतुर आमनागरिकको चाहना कति पूरा हुन्छ हेर्न बाँकी छ ।

२००७ सालदेखि २०७९ सालसम्मका विभिन्न देश काल र समयका क्रान्ति र आन्दोलनको नेतृत्व मात्र होइन, मुलुकको शासकीय बाघडोर समेत सम्मालेका राजनैतिक खेलाडीहरुको अहिले पनि बोलबाला छ । जनताले अहिले पनि उनिहरुप्रति आलोचनात्मक समर्थन दिएका छन् ।

अर्थात् नेताले यसो गरेनन्, उसो गरेनन, पार्टीहरुले केहि गरेनन भनेपनि चुनावी सभा तथा जुलुसमा सहभागी मात्र होइन, मतदानद्वारा ‘लौ हामीलाई शासन गर’ भनेर गोप्य रूपमा भोट पनि गरे । चुनावी नतिजा अनुसार ७५३ पालिकामा अधिकांशमा पुरानै राजनीतिक पार्टीका नेताहरु नैे नेतृत्वमा पुगेका छन् ।

तर, एउटा कुरा के भन्न सकिन्छ मुलुकको केन्द्रिय स्थान , सर्वोच्च राजनीतिक बहस र चेतना हुने स्थान राजधानी काठमाडौं महानगरपालिका भने पुरानो नधोइ लगाउने, पोलिस गरेर लगाउने वा पुरानो कपडा धोएर लगाउने र नयाँ कपडा लगाउने बीचको मत विभाजनमा नयाँ कपडा लगाउनेहरुको बहुमतद्वारा बालेन शाहले काठमाडौं महानगरपालिकाको सत्ताको बाघडोर सम्हाल्न पाएका छन्।

अब नयाँ कपडा कति बलियो छ हेर्नु छ। एकातिर पुरानो कपडा पोलिस गरेर, धोएर लगाउने जमात पनि छ । हेरौ, कसको सक्कली कपडा छ केहि समय पर्खनैपर्छ । आगामी चुनावमा पनि देशभर यसको प्रभाव पर्नेछ । नयाँ नयाँ वालेन शाहहरु छान्ने कि पुराना पात्रहरु छान्ने ? निश्चय नै उहाँले कसरी काम गर्नुहुन्छ, के गर्नु हुन्छ, कसरी परिवर्तन गर्नुहुन्छ, काठमाडौमा के हुन्छ ? बडो उत्सुकता र चासोको साथ आमनागरिकले हेरिरहेका छन् । मेयरको रुपमा बालेनको सफलता र असफलतामा आमनागरिकले भोलिको आफ्नो नजरको दिशा बदल्ने वा नबदल्ने तय हुनेछ ।

सफल भए मुलुकभर थप नयाँ–नयाँ बालेनहरु जन्मिनेछन्। पुराना नयाँ दलहरुभित्र पनि बालेन चरित्रका नेताहरु अवश्य जन्मिनेछन्। असफल भए बालेन बेलून जस्तै फुट्नेछ्न । फेरि एकपटक आमजनता निराश हुनुपर्नेछ । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेर चित्त बुझाउनुपर्नेछ ।
काठमाडौंका नवविजयी मेयर–वालेन शाह र सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।