ताजा अपडेट »

पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट

शनिबार, ०७ जेठ २०७९

रुरु । स्थानीय तहको निर्वाचन सकिएसँगै रुरुक्षेत्र गाउँ पालिकाका वडाहरुमा जन निर्वाचित प्रतिनिधिहरुको पदवहाली हुँदै गर्दा जनताका लागि नयाँ योजनाहरु पनि सार्वजनिक गरिएको छ ।

रुरुक्षेत्र गाउँ पालिकाको पहिलो बैठकबाट गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखको पदमा निर्वाचित यदु ज्ञवालीले गाउँपालिका भित्र न्यूनतम विद्युत महशुल गाउँपालिकाले तिरिदिने नयाँ योजना जनताका माझ ल्याएका छन् । यो स्किमले गाउँपालिका भित्रका हजारौं घर परिवार लाभान्वित हुने छन् ।

निर्वाचन अघि गरिएका प्रतिवद्धताहरु पूरा गर्ने वचनबद्धता पूरा गर्ने कामको शुरुवातको रुपमा न्यूनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय जनउत्तर दायित्व पूर्ण र जनकेन्द्रित कार्यक्रमको रुपमा आम रुरुक्षेत्र गाउँ पालिकाबासीले लिएका छन् र यो पहिलो कदमलाई सबै गाउँपालिकाबासीले स्वागत गरेका छन् ।

असिमित आवस्यकता जनताका छन्। तर, यो कदम एउटा अत्यन्त सकारात्मक कदम हो र क्रमशः जनताका आधारभुत आवश्यकता पूरा हुने विश्वास लिन सकिने रुरुक्षेत्र गाउँ पालिका ३ फल्लेखर्कका समाजसेवी कृष्ण राज ज्ञवालीको भनाई छ । यसैगरि रुरुक्षेत्र गाउँ पालिका वडा न १ का जनप्रतिनिधि हरुले पनि पद वहालीसँगै स्वास्थ बीमा नगराएका आम वडाबासीका लागि बीमाबापत लाग्ने रकमको ५० प्रतिशत वडाले बेहोर्ने गरि स्वास्थ्य बीमा गर्ने स्किम सार्वजनिक गरेको छ।

रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष नवराज बिकले वडाध्यक्षको कुर्सी सम्हाल्दै गर्दा यो स्किम ल्याएका हुन् । रुरुक्षेत्र गाउँपालिका वडा न १ मा गठवन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै नेकपा एमालेले जित हासिल गरेको हो ।

वडा न १ मा वडाध्यक्षमा नवराज बिक खुल्ला सदस्यमा घनश्याम ज्ञवाली र शुसिल श्रेष्ठ दलित महिला सदस्यमा लक्ष्मी विक र खुल्ला महिला सदस्यमा लक्ष्मी भट्टराई निर्वाचित भएका छन् ।स्थानीय तहको निर्वाचन पछि अन्यवडाहरुमा पनि पदवहाली भईसकेको छ ।