ताजा अपडेट »

‘सिंचाइ आयोजना पूरा हुने, व्यवस्थापन हुन सकेमा कृषि क्रान्ति’

शुक्रबार, ०६ मंसिर २०७६

मंसिर ६,
ग्लबोल आवाज
तिनाउ । पाल्पाको कचलफाँट सिंचाई योजनाको बाँकी कार्य सम्पन्न हुने भएको छ । प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री माननीय बैजनाथ चौधरीले बिहीवार उक्त स्थानको स्थलगत अवलोकन पश्चात् सो कुरा बताएका हुन् । तिनाउ गाउँपालिकाको वडा नं.१ मा पर्ने उक्त कचलफाँट पाल्पा जिल्लाको तेस्रो ठूलो उपत्यकाको रुपमा रहेको छ । उक्त फाँटमा उचित सिंचाई व्यवस्थापन हुन सकेमा कृषि क्रान्ति हुन सक्ने र स्थानीय नागरिकहरुको जीवनमा आमूल परिवर्तन हुने भएकोले सो सिंचाइ योजनालाई प्रदेश सरकारले कुनैपनि हालतमा सम्पन्न गर्ने मन्त्री चौधरीले स्थानीय नागरिकका बीचमा प्रतिवद्धता जनाएका छन् ।


तीन सय हेक्टर जमीन रहेको कचलफाँटमा तत्कालीन राजा बीरेन्द्रको हुकुम प्रमाङ्गीबाट २०४२/२०४३ सालमा सुरु गरिएको उक्त सिंचाई योजनामा तीन करोड रकम खर्चिएको र सत्ता परिवर्तनसंग सो सिंचाइ आयोजनाले निरन्तरता पाउन नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो मन्त्रालयले नीतिगत तथा कानुनी प्रक्रिया मिलाएर कार्यान्वयनमा ल्याउन कुनै कसर बाँकी नराख्ने मन्त्री चौधरीले बताए ।

उक्त अवलोकन कार्यक्रममा प्रदेश सदस्यहरु माननीयहरु नारायण आचार्य, वसन्त घर्तिमगर, सिंचाई कार्यालय, पाल्पाका डिई शंकर थापा, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगर, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, वडाध्यक्ष रोमबहादुर लम्तरी लगायतले कलचफाँटमा सिंचाई सुविधा सक्दो छिटो सञ्चालनमा ल्याउनका निम्ति विभागीय मन्त्रीसंग अनुरोध गर्दै कचलबासीको जीवन उज्यालो बनाउने उक्त सिंचाई आयोजना यस क्षेत्रकै महत्वकांक्षी योजना सफल योजना बनाउन सबै लागि पर्नुपर्ने बताए । संघीय सरकारले गत वर्ष नै उक्त आयोजना सम्पन्न गर्नका निीम्त ९ करोड वजेट विनियोजन गरिसकेता पनि कुनै पनि काम हुन सकेको छैन ।