ताजा अपडेट »

बार्षिक पुण्य तिथीको अवसरमा अक्षयकोष स्थापना

विहीबार, ०५ मंसिर २०७६

मंसिर ५,

बसन्त श्रेष्ठ 'छापेली' / ग्लोबल आवाज

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ डिभर्नाका मोतीकुमार श्रेष्ठले स्वर्गीय धर्मपत्नि सरस्वति कक्षपती श्रेष्ठको नाममा अक्षय कोषको स्थापना गरेका छन् । श्रेष्ठले धर्मपत्नीको सम्झना स्वरुप डिभर्नामा रहेको श्री बिजय माध्यमिक बिद्यालयमा एक लाख पाँच हजार एक रुपैयाको अक्षय कोषको स्थापना गरेका हुन् ।

उक्त रकम स्वर्गीय सरस्वति कक्षपति श्रेष्ठका श्रीमान मोतीकुमार श्रेष्ठ, ससुरा बुवा नरप्रसाद श्रेष्ठ, जेठाजु तथा अर्घाखाँची उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठले बिजय माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्वराज आचार्य र प्राचार्य भुपाल खनाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

अक्षय कोषबाट बार्षिक रुपमा आर्थिक रुपले बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृत्ति स्वरुप बितरण गरिने अक्षयदाता मोतीकुमार श्रेष्ठले जानकारी दिए । कक्षपतिको ५० वर्षको उमेरमा क्यान्सरको कारण उपचारको क्रममा निधन भएको थियो ।