बुटवल । बुटवल उपमहानगरमा नेका एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई गठबन्धन दलका कार्यकर्ताले घेराउ गरेका छन् । मौन अवधिमा आफन्तको घरमा गएका बेला माया भट्टराईलाई गठबन्धन दलका कार्यकर्ताले घेराउ गरेपछि प्रहरीले उद्दार गर्नु परेको छ ।
मतदातादाई पैसा बाँड्न गएको भन्दै बुधबार दिउँसो आफन्तको घरभित्रै थुनेपछि प्रहरीले उद्दार गर्नु परेको हो । यद्यपि उनको साथबाट कुनै पनि संकास्पद चिज फेला नपरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल-११ टपमजुवामा बुस्ने आफन्ती लिला अर्याललाई भेट्न भट्टराई पत्नी माया त्यहाँ पुगेकी थिइन् ।
उद्दारछि प्रहरी कार्यालयबाट घर पुगे लगत्तै श्रीमती भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै आफू मानवीय नाताले कपिलवस्तुका एमाले नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गएको बेला आफूलाई कांग्रेस कार्यकर्ताहरुले घेराउ गरेको बताएकी छन् । उनले आफूसँगै गएकी लक्ष्मी भट्टराईको घरभाडा उठाउन भाडावाल रुपा थापाको घरमा बसिरहेका बेला आफूहरुलाई घेराउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनले विज्ञप्तिमा सामान्य विषयलाई मानवीय संवेदना समेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा आफूलाई असाध्यै दु:ख लागेको उल्लेख गरेकी छन् । ‘मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन ?’ उनले विज्ञप्तिमार्फत प्रश्न गरेकी छन् ।
प्रतिक्रिया