ताजा अपडेट »

व्यापार संघमा पदस्थापन, राष्ट्रिय उत्पादनमा जोड

बुधबार, ०४ मंसिर २०७६

मंसिर ४,

ग्लोबल आवाज

बुटवल । रुपन्देही व्यापार संघको १८ औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बुधवार पदभार ग्रहण गरेको छ ।

संघको भवनमा पदस्थापन कार्यक्रमको आयोजना गरि नव निर्वाचित कार्यसमितिलाई पुरानो समितिले पद हस्तान्तरण गरेको हो । सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं। ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा बोल्दै मन्त्री गिरिले व्यवसायीहरुका समस्यालाई समाधान गर्न प्रदेश सरकारले आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आर्थिक विकास र समृद्धिको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने कुरामा राज्य प्रष्ट रहेको बताए । मन्त्री गिरीले पर्यटन प्रवद्र्धन मैत्रीपूर्ण लगानीको वातावरण बनाएर यस क्षेत्रमा व्यवसायीक लगानीको बृद्धि गर्ने जनाए । कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य माधव शर्माले राष्ट्रिय अर्थतन्त्रको रक्षा र विकासमा व्यवसायीहरुको योगदानप्रति सबै सचेत हुने अवस्था रहेको बताए ।

संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षता, महासचिव प्रकाश ढकालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत गर्दै अध्यक्ष श्रेष्ठले राज्यका नीतिका कारण व्यवसायीहरु निर्वाहामूखि व्यवसाय गर्न बाध्य भएकोहुँदा राष्ट्रिय उत्पादनमा जोड दिदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने नीति राज्यले अवलम्बन गर्न सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी, संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवाली लगायत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यमलाल लोहनीले प्रतिवद्धता व्यक्त गर्दै संघले गर्ने कामका बारेमा जानकारी गराए । उनले आर्थिक समृद्धिको लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक छलफल र सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । संघका व्यवसायिक गतिविधिहरु आम उपभोक्ताको हकहित र अधिकारलाई ध्यान दिएर अघि बढाइने जनाए ।