ताजा अपडेट »

प्रतिष्ठानको नेतृत्व गर्ने पालो मेरोः रमेश बिजी

बुधबार, ०४ मंसिर २०७६

मंसिर ४,

ग्लोबल आवाज

बुटवल । पोखरामा मंसिर ६ देखि ८ गतेसम्म हुन लागेको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानको सातौ केन्द्रिय महाधिबेशनमा बुटवलबाट कलाकारिता सुरु गरेका गायक रमेश बिजीले केन्द्रिय अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । उनी हाल प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हुन् ।

वर्तमान अध्यक्ष बद्री पँगेनीको समेत आफूलाई साथ र सहयोग रहेकाले आफू सातौँ महाधिबेशनबाट अध्यक्षमा निर्वाचित हुने दाबी गरेका छन् । उनले भने ‘म लोक तथा दोहरी गीत प्रतिष्ठानको संस्थापक सहसचिब हुँ, म लगायतका सबै पदाधिकारीहरु अध्यक्ष बनि सकेका छन्, यो महाधिबेशनमा स्वतः मेरो पालो भएकाले पनि म अध्यक्षमा उम्मेदाबरी दिने निर्णय गरेको हुँ ।’ उनले थपे ‘प्रतिष्ठानको स्थापनाको समयदेखि नै संस्थामा रहेर करोडौँको कोष स्थापना र भवनको निर्माण गर्न हालसम्मका अध्यक्षहरुलाई सहयोग गरेकाले पनि मलाई अहिले देशैभरीका कलाकारहरुले पनि साथ र सहयोग गर्नुहुने छ भन्नेमा म विश्वस्त छु ।’ यद्यपी बिजीसहित अर्का गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उमेदवारी दिने चर्चा रहेको छ । बिजीको स्थायी घर स्याङग्जाको पुतली बजार नगरपालिका–१४ लामागेमा भएता पनि उनले आफ्नो गायन र गीत सिर्जना भने बि.स २०५५ देखि बुटवलबाट सुरुवात गरेका थिए । हाल उनी बुटवलमा नै बस्दै आइरहेका छन् ।

पाल्पाबाट उदायका वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले गाएको ‘लाईछौ बेशना..’ बोलको गीत लेखनबाट ब्यबसायिक गीत सर्जकको यात्रा सुरु गरेका बिजी अहिलेको पछिल्लो बहुचर्चित ‘ चिया छानेर..’ बोलको गीतका समेत रचना गरेका छन् । त्यस अघि उनले ‘सरर पानी घट्टामा.. ’ , ‘ रुन्छनी मन किन रुँदैन ’ , तिते करेली.. बोलको लोक दोहरी गीत र आधुनिक गीतहरु मध्ये रामकृष्ण ढकालले गाएको ‘ दियो जलेको देख्छु .. ’ बोलको गीत निकै चर्चामा छन् । यस्तै यसपाली तिहारको ‘टिका माला… ’. बोलको गीत पनि निकै चर्चामा रहेको थियो । हालसम्म झण्डै १५ सय भन्दा बढि गीतहरुको सिर्जना गरेका र केहि लोक दोहरी गीत आफुले पनि गाईसकेको बिजी मौलिक गीत लेखनमा धेरै रुचि राख्ने गर्दछन् ।