मंसिर ४,
डि.बी. सुस्लिङ/ ग्लोबल आवाज
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङ्गलाका कृषकहरु सँस्कृति संरक्षणसँगै आधुनिक कृषितर्फ आकर्षित भएका छन् । कृषकहरुको महत्वपूर्ण पर्वका रुपमा रहेको न्वाँगी पर्व लोपहुँदै गएको अवस्थामा यहाँका कृषकहरुले भने तामझामका साथ यो पर्व मनाउँदै छन् । झ्याङ्गलाका युवाहरु स्थानिय खाँणदेवी मन्दिर सिँगारपटारमा व्यस्त छन् । ध्वँजा पटका लगाउने, मन्दिरमा लिपपोत गर्ने र मन्दिर परिसरमा रहेका झाडि सफाइमा व्यस्त छन् । स्थानिय कृषकहरुको आस्थाको केन्द्र बनेको खाँणदेवि मन्दिरमा अन्नबाली चढाउने तथा पुँजाआजा गर्ने गरेमा उत्पादनमा वृद्धि हुने तथा बाली सुरक्षित हुने जनविश्वाष रहेको छ । स्थानिय कृषक समुहले विगतका वर्षहरुमाजस्तै यस वर्षपनि विहीबार तामझामकासाथ न्वाँगी पर्व मनाउँदै छन् ।
हरेकवर्ष मंसिर १ देखि ५ गते भित्र मनाउने यो पर्व विजोर दिनमा मनाउने प्रचलन रहि आयअनुसार यस वर्ष मंसिर ५ गते मनाइँदैछ । नेपाली किसानहरु असारमा रोपेको धान कार्तिकमा थन्काई मंसिरमा विशेष रुपमा चामल प्रयोगमा ल्याउने गर्दछन् । जसलाई न्वागी भन्ने गरिन्छ । यस दिनमा सिलाम, चामल र दही साँधेर खाने–खुवाउने प्रचलन रहेको छ । यसदिनबाट नयाँ चामलको भात खान सुरु हुन्छ । नेपालका अधिकांश स्थानमा न्वाँगी पर्व मनाउने प्रचलन लोप भइसकेको छ । तर तिनाउका झ्याङ्गलाबासीले भने यस दिनलाई विशेष र भव्य रुपमा मनाउँदै आएका छन् । विगतका वर्षहरुभन्दा विशेष र फरक ढँगले न्वाँगी उत्सव मनाउन लागिएको कार्यक्रम संयोजक स्थानिय रुद्र जि.सी.ले जानकारी दिए । विहीबार विहानैदेखि मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ । दिउसो औपचारिक कार्यक्रम सहित विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने उनले बताए । स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रममा मगर सँस्कृति झल्कने कौरा नाच, सोरठी, ठूलो नाच तथ सालैजो प्रस्तुत गरिँदै छ ।
तिनाउ-२ को पचास हजार आर्थिक सहयोग तथा झ्याङ्गलाबासीको आयोजनामा हुन लागेको न्वागी महोत्सवमा स्थानीय तथा परम्परागत खानाका परिकारहरुको समेत स्वाद चाख्न पाइने कार्यक्रम संयोजक जि.सी.ले बताए । पाल्पाका विभिन्न स्थान र रुपन्देही, गुल्मी लगायतका जिल्लाहरुबाट समेत कृषि उत्पादनको अध्ययनका लागि उपस्थिति रहने आयोजकले जनाएको छ । स्थानीय अगुवा टोपलाल गिरीका अनुसार यस वर्ष मनाउने यहाँको शैली भिन्न र विशेष रहेको छ । उनी भन्छन् ‘परापूर्व कालदेखि आएको नेपाली परम्परा र संस्कृतिलाई निरन्तरता दिनु हाम्रो कर्तव्य हो । झ्याङ्गमा मनाइने पर्वमा स्थानीयबासी, जनप्रतिनिधी मात्र नभई प्रदेशका प्रतिनिधिहरुको समेत सहभागिता रहँदै आएको छ ।’ झ्याङ्गलामा प्रयाप्त कृषि स्मार्ट भिलेज बनाउन लागेको प्रदेश सभा सदस्य बसन्त घर्ती बताउँछन् । उनले भने ‘यहाँको मौसम र माटोसँगै कृषकहरु पनि सक्रिय हुनुहुन्छ । यो कृषि पकेट क्षेत्रलाई आधुनिकरण गर्दै नमूना गाउँ बनाउने हाम्रो उद्देश्य रहेको छ । सोहि अनुसार यसलाई स्मार्ट कृषि ग्राम बनाउँदैछौ ।’
गत वर्ष प्रदेश ५ सरकारको स्मार्ट कृषि कार्यक्रमबाट ५० लाखको अनुदान प्राप्त गर्न सफल झ्याङ्गलामा ६ समूहमा विभाजित कृषक समूहले व्यवसायीक खेतीमा लागेको तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले बताए । मुख्य बालीका रुपमा धान, गहूँ, मकै तथा तोरी उत्पादन हुने यस क्षेत्रमा प्राप्त अनुदानपछि व्यवसायीक तरकारी खेती समेत हुदैँ आएको उनले बताए । ६ सय रोपनी जग्गामा खेतीहुँदै आएको यस गाउँमा प्रदेश सरकारको बजेट अनुदानले कृषि आधुनिकीकरणमा सहयोग पुगेको कृषकहरु बताउँछन् । बाह्रै महिना सिञ्चाईको सुविधा भएको यस ठाउँमा सरकारको अनुदानले पक्कि कुलो बन्न लागेपछि कृषकहरु थप उत्साहीत भएको वडा अध्यक्ष श्रेष्ठले बताए । प्रदेश सरकारको प्राप्त अनूदान तथा तिनाउ गाउँपालिका र वडाको आर्थिक सहयोगमा कृषि औजार ६ थान हाते ट्याक्टर, एक थान धान काट्ने मेशिन, पानी तान्ने पम्प तथा बाख्रा पालनमा नश्न सुधारका लागि जमुना पारी जातको २ वटा बोका गरिद गरिएको कार्यक्रम संयोजक रुद्र जि.सी.ले जानकारी गराए ।
पाल्पा जिल्लाका माडी फाट, रामपुर फाँट, अर्गली फाँट, हुँगी, गेझाँ, सर्देवा फाँटका साथै दोभानको झ्याङ्गलामा पनि कृषि उत्पादन हुने मुख्य ठाउँहरु हुन् । कृषि विज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लाको ३६ हजार ५ सय ३७ हेक्टर क्षेत्रफलमा खेती हुदैँ आएको छ । तराईसँग जोडिएको यस जिल्लामा चुरे, महाभारत तथा उच्च पहाडी क्षेत्रहरु समेत रहेकोहुदाँ सिचाँइ सुविधा मुख्य चुनौतीका रुपमा रहेको छ । जिल्लाका ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा वर्षे धान उत्पादन हुन्छ भने ७ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै हिउँदे धान उत्पादन हुन्छ । अन्य २७ हजार २ सय १२ हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुने गर्दछ ।
प्रतिक्रिया