ताजा अपडेट »

पाँच दलीय गठबन्धनको चुनावी संकल्प सार्वजनिक, समृद्ध बुटवल बनाउने सपना

बुधबार, २१ बैशाख २०७९

बुटवल । पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाईं र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका छन् । उनीहरुले बुटवलमा विकासका ठूला-ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताए । साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

संकल्पपत्रमा भनिएको छ- ‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’

पाँच दलले देश विदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ ।

यस्तै विशिष्ट सार्वजनिक सेवा द्रुत रुपमा घरघरै पु-याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।
यस्तै सबै वडाको दीगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ । यस्तै संकल्पपत्रमा अगाडि भनिएको छ– ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगरभित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’

यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।

‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ ।’

यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने लगायतका प्रतिबद्धता जनाएको छ ।