ताजा अपडेट »

एमाले तिलोत्तमा–५ को वृहत भेला तथा प्रशिक्षण, बहुमतले विजयी हुने दावी

शुक्रबार, १६ बैशाख २०७९


बुटवल । नेकपा एमाले तिलोत्तमा वडा नं. ५ को वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले तिलोत्तमा नगर कमिटि, वडाका शाखा कमिटिहरुले अहिले धमाधम कार्यकर्ता भेला र प्रशिक्षण गरिरहेको छ । त्यहि कार्यक्रम अन्तर्गत वडा नंं ५ मा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिव्यूरो सदस्य लिला गिरीले एमाले जनताको पार्टी भएकाले बहुमतका साथ यो निर्वाचनमा विजयी हुने बताए ।

एमाले सरकारमा रहँदा विकास, सुशासन, रोजगारी सिर्जना लगाएतका विभिन्न कामहरु गरेको भन्दै जनताले यस पटक पनि एमालेले बहुमत सिटमा जित हासिल गर्ने उनको भनाई थियो । उनले तिलोत्तमा नगरपालिकामा मात्र नभई लुम्बिनी प्रदेशका बहुमत पालिकामा एमाले एक्लैको विजयी सुनिश्चित भएको बताए । उनले एमालेले गरेका कामको प्रचार टोल टोलमा गर्दै निर्वाचनमा सबै लाग्न निर्देशन समेत दिए । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले एमाले संग कोही पनि प्रतिष्पर्धी नभएको भन्दै गठबन्धनको नाटक मञ्चन रचेपनि जनताले यो चुनावमा देखाइदिने बताए।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार मोहन चापागाईले ५ बर्षको अवधिमा तिलोत्तमा नगरपालिका भित्र भएका कामबाट नेपाली कांग्रेस तर्सेको भन्दै तिलोत्तमामा एमाले विजयी हुने दावी गरे । तिलोत्तमा नगरपालिकाको उचाईलाई अझ बढाउँदै समुन्नत तिलोत्तमा नगरपालिकाका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै सबैलाई मत दिन आग्रह गरे ।

उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरीले ५ वर्षको अवधिमा तिलोत्तमा नगरपालिकामा जग बसालेर काम अगाडि बढाएको भन्दै यसलाई दिगो बनाउनका साथै अधुरा योजना सम्पन्न गर्न एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरिन् । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार चेत नारायण भण्डारी, वडा सदस्य गायत्री पाण्डेय, सुमन नेपाली, मनिष कुमार अधिकारी र यज्ञमुर्ती पाण्डेको उपस्थिति रहेको थियो ।