ताजा अपडेट »

सुदूरपश्चिममा पनि फौजी किराको आतंक

मंगलबार, ०३ मंसिर २०७६

मंसिर ३,

धनगढी । मकै बालीमा आतंक मचाउने अमेरिकी फौजी किरा सुदूरपश्चिममा पनि भेटिएको छ। मकैको पातमा अण्डा पारेर घोगासहित बोटलाई पूर्णरुपमा क्षति पुर्‍याउने यो किरा गत जेठ १८ गते नेपालमा रहेको पुष्टि भए पनि सुदूरपश्चिममा भने प्रमाणित भएको थिएन। हाल भने सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा फौजी किरा फैलिएको पुष्टि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ।

कैलालीमा यो किरा भएको आशंका गरिएको छ भने कञ्चनपुर तथा बैतडीमा पनि रहेको पुष्टि भएको निर्देशनालयले जनाएको छ। यसैगरी अन्य पहाडका केही स्थानमा पनि फौजी किरा रहेको आशंका गरिएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले बताए। फौजी किराको मनपर्ने खानाका रुपमा मकै प्रमुख बाली भए पनि धान, गहुँ, काउली, उखु, सख्खरलगायत तीन सय ५३ प्रजातीका बालीमा संक्रमण गर्न सक्ने निर्देशक जोशीले बताए। यो किरालाई तत्कालै नियन्त्रण गर्न नसके खाद्य संकटको स्थिति पैदा हुनसक्ने उनको भनाइ छ। नेपाल कृषि विज्ञान अनुसन्धान महाशाखा प्रमुख अजय श्रीरत्न बज्राचार्यले पनि अमेरिकी फौजी किरा समयमै नियन्त्रण गर्न नसके ठूलो संकट आउन सक्ने बताए। यो किराको संक्रमण भए एकैरातमा थुप्रै विगाहा जमिनमा लगाएको मकै बाली नष्ट गर्न सक्ने उनले बताए। फौजी किरालाई विषादीको प्रयोग गर्दैमा मात्रै नियन्त्रण गर्न नसकिने उनको भनाइ छ।

कस्तो हो अमेरिकी फौजी किरा ?

अमेरिकी फौजी किरा मकै बालीमा लाग्ने रात्रिचर किरा हो। यो काउली–बन्दामा लाग्ने सुर्तिचर किरा जस्तै हुने हुँदा पहिचान गर्न समस्या हुनेगर्छ। यो अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रको रैथाने किरा हो। यो आक्रामक हुन्छ, जसले अन्य किराको तुलनामा छोटो समयमा नै ठूलो क्षेत्रमा फैलिने र बालीमा नोक्सानी गर्न सक्छ। यो किराले वयस्क अवस्थामा ५ सय किलोमिटर क्षेत्रसम्म यात्रा गर्न सक्ने क्षमता हुने गरेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र काठमाडौं प्रमुख महेशचन्द्र आचार्य बताउँछन्। उनका अनुसार यस प्रजातिको किराले मकैको पात पछाडी एकैपटक दुई सयसम्म अण्डा पार्न सक्छ। यो किराको अण्डा लार्भामा परिणत भएदेखि नै बिरुवामा तीव्र रुपमा क्षति पुर्‍याउन सुरु गर्ने गरेको उनले बताए। लार्भाको प्युपा अवस्था माटोभित्र रहने र ९ देखि १३ दिनभित्र रातमा वयस्क पुतली निष्कने गर्दछ।

नियन्त्रणका प्रयास

किरा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा कृषि विकास निर्देशनालयका प्रमुखको नेतृत्वमा १३ सदस्यीय कार्य समिति गठन गरिएको जनाइएको छ। जसले सरोकारवाला सवै निकायसँग मिलेर छलफल तथा किराको बारेमा जानकारी गराइरहेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख आचार्यले बताए। सामान्यतया अमेरिकी फौजी किरा मार्न निकै समस्या हुने गरेको उनले बताए। मकैको पातको पछाडी भागमा यो किराले अण्डा पार्ने र पातकै पछाडी लार्भा निस्कने गरेका कारण सामान्य विषादीबाट यो किरालाई मार्न असम्भव जस्तै रहेको विज्ञहरु बताउँछन्। यो किरा मार्न कडा विषादी प्रयोग गरेमा मानव स्वास्थ्यलाई समेत खतरा हुनसक्ने प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र प्रमुख आचार्य बताउँछन्। त्यसलै यस किराको अण्डालाई नष्ट गर्नु नै नियन्त्रणको सजिलो तरिका मानिएको छ। उनले किरा नियन्त्रणमा लिन सरकारी तथा गैरसरकारी संघ संस्थाहरु एक ठाउँमा उभिएर काम गरिरहेको बताए। यसका अलावा मकैसँगै यो किराले मन नपराउने डेस्मोडियम घाँसको खेती गरेर भगाउन सकिने आचार्यको भनाइ छ। अमेरिकी फौजी किरालाई नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेशमा समेत सरकारी तथा गैरसरकारी क्षेत्रबाट कृषि क्षेत्रमा काम गर्ने २८ जनालाई आइतबारदेखि दुई दिने तालिम सञ्चालन गरिएको कृषि विकास निर्देशक जोशी बताउँछन्।

किरा मार्ने जैविक विधि

अमेरिकी फौजी किरालाई नियन्त्रणमा लिन केही जैविक तरिका पनि अपनाउन सकिने विज्ञको भनाइ छ। यो किराले नेपियर घाँस निकै मन पराउने हुँदा मकै खेतीको छेउमा यस प्रकारको घाँसको खेती गरी विषादीका माध्यमबाट मार्न सकिने सम्भावना हुन्छ। त्यसैगरी काउली–बन्दामा लाग्ने सूर्ति किराका लार्भा नष्ट गर्ने दुस्मन किरा पहिचान गरी ती किराको संरक्षण गरेर पनि फौजी किरालाई नियन्त्रण गर्न सकिने आचार्यको भनाइ छ। यसैगरी विषालु किरा, बारुला पनि अमेरिकी जैविक किराको दुस्मन किरा हुनसक्ने भन्दै त्यसको प्रयोगतर्फ पनि सोचिन थालिएको उनले बताए।- नेपालन्यूज